झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा झापाली पत्रकार नरेन्द्र ढकालले २५ हजार २५ रुपैयाँ प्रदान गरेका छन् । आफ्नो जन्मोत्सवको उपलक्ष्यमा पूर्वाञ्चलको अनलाइन शाखाका समाचार संयोजक ढकालले उपचार कोषका लागि रकम प्रदान गरेका हुन् ।
झापाली संञ्चारकर्मीहरुकै हितका निम्ति स्थापित कोषमा रकम प्रदान गर्दै पत्रकार ढकालले खुशी व्यक्त गरे । पत्रकार महासंघ झापाका कार्यवहाक अध्यक्ष केशव भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का सदस्य सुरेन्द्र भण्डारी, समाजवादी प्रेस संगठनका नेता अनिलदेव राईलाई पत्रकार ढकालले रकम हस्तान्तरण गरेका हुन् ।
पत्रकार उपचार कोषमा हालसम्म ४७ लाख रुपैयाँ जम्मा भइसकेको जनाउँदै कार्यवहाक अध्यक्ष भट्टराईले कोषको रकम एक करोड रुपैयाँ पु¥याउने बताए । सञ्चारकर्मीसँगै अन्यदाताहरुलेसमेत यो कोषमा रकम जम्मा गर्दै आएका छन् । पत्रकारहरु घाइते अथवा बिरामी भएमा अक्षय कोषका रुपमा रहेको यो रकमको व्याजबाट उपचार खर्च दिइदै आएको छ ।