संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा सबै पार्टी मिल्दा पनि एमालेलाई जित्न नसक्ने दावी गरेका छन् । एमाले धनकुटाले सहिदभूमि गाउँपालिकाको छिन्ताङ्गमा आयोजना गरेको सहिद स्मृति सभालाई संवोधन गर्दै अध्यक्ष ओलीले आउँने चुनावबाट एमाले अझै शक्तिशाली पार्टी बन्ने दावी गरेका हुन् ।

Advertisement

पाँच दलिय गठबन्धनलाई लक्षित गर्दै ओलीले पाँच दलमात्र नभई सबै पार्टी मिल्दा पनि एमालेको कम्मर–कम्मर नआइपुग्ने जिकिर गरे । ‘अहिले पनि एमाले देशको सबैभन्दा ठूलो पार्टी हो, कांग्रेससँग ६१ सिट छ, एमाले चोइटाएर लगेका २० वटा सिट होला, एमालेले मद्धत गरेर भएकाका ४८ सिट छन् । तर, एमाले एक्लैसँग १०० सिट छ,’ दावी गर्दै ओलीले भने, ‘यो हिसाव आउँदो चुनावसम्म मात्र हो, चुनावबाट एमालेको कम्मर–कम्मर सबै पार्टी मिल्दा पनि आइपुग्दैनन्, एउटाको टाउकोमा अर्को, अर्कोको टाउकोमा अर्को खप्टिदा पनि एमालेको कम्मर–कम्मर पुग्दैनन् ।’

कार्यक्रमलाई संबोधन गर्दै ओली । तस्वीर:सन्तोष सुवेदी/संगालोखबर

माधब, प्रचण्डहरु छोडेर गएपछि एमाले झन झाँगिदै गएको ओलीले बताए । बिग्रिएको आलु बोराबाट फाँकेजस्तो भएको भन्दै ओलीले माधव, प्रचण्डहरु निस्किएपछि पार्टीमा झन जनलहर बढेको दावी गरे । एमालेमा जनलहर बढेको देखेर माधव प्रचण्डहरु अत्तालिएको उनले बताए । दुई तिहाइको सरकार ढालेर माधव, प्रचण्डहरु अहिले काँग्रेसको पाउमा पुगेको भन्दै ओलीले थोत्रो भइसकेको कांग्रेसको पछि लागेर केही नहुँने टिप्पणी गरे । ‘कांग्रेस आफै थोत्रो भइसकेको छ, त्यसको पछि लाग्नेहरुहरुको हालत के होला,’ माधव नेपाल र प्रचण्डलाई लक्षित गर्दै ओलीले भने, ‘दुई तिहाइको सरकार ढालेर गएकाहरुको अहिले होस हावास् उडेको छ, एमालेको जनलहर देखर अत्तालिएका छन् ।’

एमाले छोड्नेहरुलाई पश्चाताप भएपनि एमालेमा आउँनेहरुलाई सहि निर्णय लिइएछ भन्ने वातावरण बनाउँने ओलीले बताए । उनले अझै पार्टी प्रवेशको क्रमलाई बढाउँन नेता कार्यकर्तालाई निर्देशन पनि दिए । मुलुकका हरेक परिवर्तनमा सहिदहरुको बलिदानीको चर्चा गर्दै ओलीले ‘छिन्ताङ्ग हत्याकाण्ड’ सहित सबै घटनाका सहिदहरुको सपना साकार पार्ने आश्वासन दिए ।

बाम लोकतान्त्रिक आन्दोलनका क्रममा २०३६ सालमा राज्यको तर्फबाट हत्या गरिएका १६ जना सहिदहरुको ४३ औं स्मिृति दिवसको अवसरमा एमालेले सभा आयोजना गरेको हो । सभालाई एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल, मेडिकल व्यावसायी एवं एमाले नेता दुर्गा प्रसाई, एमाले धनकुटा अध्यक्ष राजेन्द्र राई, शहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई लगायतले संवोधन गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!