धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले चाडपर्वको अवसरमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दीपावली, नेपाल संम्बत, छठ, वाढाङ्मी, चासोक तङनाम, उधौली लगायत चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राईले मन्तव्यमार्फत सहभागि सबैलाई चाडपर्वहरुको शुभकामना दिए । सो अवसरमा धनकुटाका बिभिन्न संघसंस्था तथा राजनीतिक दल, सुरक्षा निकाय र सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी लगायत सहभागि थिए । सहभागिहरुलाई पत्रकार महासंघको तर्फबाट फूलको गुच्छा प्रदान गरी तिहारको शुभकामना दिइयो ।
सोही कार्यक्रममा मनोरञ्जनका लागि हाउजी बिंगो खेल पनि खेलाइएको छ । हाउजी बिंगोमा एकैसाथ हाउसफुल पार्दै कृषि अभियान्ता जीवन राई र रेडियो मकालुकी लेखा प्रमुख मनिषा पोखरेल बिजयी भएका छन् । उनीहरुलाई जनही १ हजार ७ सय ५० नगद पुरस्कार प्रदान गरिएको कार्यक्रम सञ्चालक एवं पत्रकार महासंघका सचिव हरीबहादुर लम्जेलले जानकारी दिए ।
त्यस्तै, क्वीक फाइभ र सेकेण्ड लाइन मिलाउँदै पत्रकार महासंघका सह–सचिव इश्वर थापा पुरस्कृत भए । पत्रकार महासंघकी सदस्य आकृति राईले थर्ड लाइन मिलाइन् । सल्लेरीस्थित नेपाली सेनाको बरख गणका क्याप्टेन रमेश कार्कीले फस्ट लाइन मिलाए । पत्रकार महासंघका सदस्य आशिष लिम्बु र सल्लेरीस्थित नेपाली सेनाको बरख गणका प्रेमबहादुर बम्जन तामाङ्गले एकैसाथ फोर कर्नर मिलाएर पुरस्कृत भएका छन् ।
पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली, जिल्ला अध्यक्ष नगेन्द्र राई, संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई, पूर्व अध्यक्ष खगेन्द्र घिमिरे, सल्लाहकार भेषराज कटेल, नेपाली काँग्रेसका कोषाध्यक्ष दिनेश राई, नागरिक समाजका अध्यक्ष सुन्दरबावु श्रेष्ठ लगायतले उनीहरुलाई पुरस्कार प्रदान गरेका छन् । पत्रकार महासंघले हरेक बर्ष चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै आएको छ । यसअघि मंगलबार नेपाल प्रेस युनियनले पनि शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो ।