- संगालोखबर सम्वाददाता

धनकुटा । लगातारको बर्षाका कारण लेउती खोलामा उर्लिएको बाढीले साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक सडक बगाउँदा कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । बाढीले सडक बगाएपछि आज अपरान्ह करिब ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

बाढीले सडकको ठूलो क्षेत्रमा क्षति पुर्याएकाले तत्काल सडक खुल्ने संभावना नरहेको प्रहरीले जनाएको छ । हिजो साँझदेखि सुरु भएको बर्षा अझै नरोकिदा लेउती खोलामा बाढी उर्लिएको छ । बाढीले करिब २ सय मिटर सडक बगाएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले बताए । ‘लेउतीको बाढीले २ सय मिटर भन्दा बढी सडक बगाएको छ, राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ,’ डिएसपी रायले संगालोखबरसँग भने, ‘धेरै सडक बगाएकाले तत्काल सडक खुल्ने संभावना छैन । बैकल्पिक सडक बनाएर सडक सूचारु गर्ने प्रयास हुँदैछ । बर्षा नरोकिएकाले समस्या भइरहेको छ ।’

सडक अवरुद्ध हुँदा सयौं सवारी साधन रोकिएका थिए । तत्काल सडक खुल्ने संभावना नरहेकाले सवारी साधनलाई बीच बाटोबाटै फर्काइएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले बताए । ‘बाटो अवरुद्ध हुँदा रोकिएका गाडीहरुलाई उताको उतै र यताको यतै फर्काएका छौं । लेगुवा, सिधुवा, धरान लगायत क्षेत्रमा पनि गाडीहरुलाई त्यही रोक्न लगाएका छौं,’ ट्राफिक प्रहरी खड्काले भने ।

धनकुटामा हिजो साँझदेखि अविरल बर्षा भइरहेको छ । निरन्तरको बर्षाले बिभिन्न ठाउँमा क्षति पुर्याएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!