- सन्तोष रुचाल

धनकुटा । धनकुटाको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडक कालोपत्रे गरिने भएको छ । प्रदेश सरकारको लगानीमा कालोपत्रे हुन लागेको उक्त सडकको मुख्यमन्त्री भीम आचार्यले सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् ।

Advertisement

सडक शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले सडक कालोपत्रे भएपछि त्यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा पनि टेवा पुग्ने बताए । उक्त सडक हुदै पूर्वको चर्चित धार्मिक स्थल छिन्ताङदेवी मन्दिर, पर्यटकिय स्थल त्रिवेणी घाट लगायत स्थान पुग्न सकिन्छ । अब सडक कालोपत्रे भएपछि पर्यटकियस्थल हिले हुदै भक्तजनहरुलाई पुजाआज गर्न र पर्यटकहरुलाई घुम्नको लागि आवत जावतमा सहज हुने मुख्यमन्त्री आचार्यले बताए ।

प्रायः वर्षभरी नै सो क्षेत्रमा सवारी साधन सञ्चालन हुदै आएको भएपनि वर्षात्को समयमा यात्रुहरु र स्थानीयवासीहरुले सास्ती भोग्दै आएका छन् । तर अब सडक कालोपत्रे भएपछि स्थानीय नागरिकहरुलाई आवत जावतमा सहज हुनुको साथै सो क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुहरु निकासीमा पनि सहज हुने भएको छ ।

हिलेदेखि त्रिवेणीसम्म करिब २६ किलोमीटर सडक मध्ये पहिलो चरणमा प्रादेशिक विशेष सडक निर्माण आयोजना कार्यालय विराटनगरको आयोजनामा १० किलोमीटर सडक कालोपत्रे हुनेछ । उक्त सडक रायमाझी आजाद जेवी काठमाडौंले निर्माणको ठेक्का पाएको छ ।

हिलेबाट १० किलोमीटर सडक कालोपत्रे गर्नका लागि २९ करोड ७२ लाख ९८ हजार रकम विनियोजन गरी सम्झौता समेत भइसकेको प्रादेशिक विशेष सडक निर्माण आयोजना कार्यालय विराटनगरका निमित्त प्रमुख दिपनारायण शाहले जानकारी दिए । २०७८ असोज ६ गते सम्झौता गरिएको उक्त सडक २०७९ चैत्र ६ गते भित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!