- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा दशैंको टिका लगाउँन जाँने क्रममा टेम्पुमा छुटेको ७ लाख मूल्य बराबरको गरगहना र नगद सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ । भोजपुरको अरुण गाउँपालिका–१ का अनिल गौतम र उनकी श्रीमती मनिता दाहालले टेम्पुमा छुटेको सात तोला बराबरको सुनका गरगहना र २८ हजार नगद फिर्ता पाएका हुन् ।

Advertisement

सिधुवाका ट्राफिक प्रहरी रामचन्द्र कटुवालले खोजतलास गरी उनीहरुको गरगहना र नगद फिर्ता ल्याएका हुन् । उनीहरु दशैंको टिका लगाउँन शनिवार धनकुटाको महालक्ष्मी–१ मारेककटहरेस्थित माइती/ससुराली जाँदै थिए । प्रहरीका अनुसार भोजपुरबाट गाडीमा आई हिलेबाट टेम्पु चढेर गएका उनीहरु सिधुवामा उत्रिए । तर, बहुमुल्य गरगहना र नगद भएको झोला टेम्पुमै बिर्सिए । कुन टेम्पुमा सामान छुटेको यकिन गर्न उनीहरुलाई टेम्पु नम्बर थाहा थिएन, न त टेम्पु चालकको नम्बर नै थियो । टेम्पुमा सामान छुटेको थाहा पाएपछि आत्तिदै गएर उनीहरुले सडकमा रहेका ट्राफिक प्रहरीलाई बताए ।ट्राफिक प्रहरी कटुवालले खोजतलास गरी फिर्ता ल्याएर सम्बन्धित धनीलाई सामान बुझाएका हुन् । ‘गरगहना र नगदसहितको व्याग टेम्पुमा छुटेको भनेर उहाँहरुले सुनाउँनु भयो, खोज्दै जाने क्रममा चित्रेमा टेम्पु भेटेर सामान फिर्ता ल्यायौं,’ ट्राफिक प्रहरी कटुवालले संगालोखबरसँग भने, ‘झोलामा सात लाख मूल्य बराबरको गरगहना र नगद २८ हजार रहेछ । चित्रेबाट सामान सिधुवा ल्याएर उहाँहरुलाई बुझाएका छौं ।’

हिलेबाट सिधुवाहुँदै चित्रे पुगेको को २ ह ६८२० नम्बरको टेम्पुमा सामान भेटिएको हो । सो टेम्पु बसन्तपुरतर्फ जादै थियो । टेम्पुमा दुई जना यात्रु सवार थिए । यता, टेम्पु चालकले भने मान्छे उत्रिसकेपछि टेम्पुमा झोला छुटेको थाहा पाएपनि त्यसमा महत्वपूर्ण सामानहरु भएको पत्तो पाएका थिएनन् । ट्राफिक प्रहरी कटुवालले खोज्दै जाँने क्रममा चित्रेमा टेम्पु भेट्टाएर सामान फिर्ता ल्याएका हुन् । सो झोलामा सुनको टप, सिक्रि, चुरा, चन्द्रमा, माइली तिलहरी, औंठी, मंगलसुत्र र २४ हजार नगद थियो । त्यस्तै राहदानी, नागरिकता, एटीएम कार्ड लगायत महत्वपूर्ण सामानहरु पनि थिए ।

सिधुवा प्रहरी चौकीमा ल्याएर ट्राफिक प्रहरी कटुवालले शनिवार साँझ गौतमलाई सामानसहितको झोला बुझाएका छन् । टेम्पुमा झोला छुटेपछि आत्तिएका गौतम दम्पती गरगहना र नगद सकुशल फिर्ता पाउँदा दंग भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!