- संगालोखबर सम्वाददाता

विराटनगर । लायन्स क्लव अफ विराटनगर एलिटले विराटनगर–१ परोपकार घाट नजिक रहेको सयपत्री परोपकार आधारभूत विद्यालयमा शौचालय बनाइदिने भएको छ । विद्यालयमा अध्ययनरत छात्राहरुका लागि लायन्स क्लवले आफ्नै लगानीमा पक्की शौचालय बनाइदिने भएको हो ।

Advertisement

लायन्स क्लवका डिस्ट्रिक गर्भनर रेवत बहादुर कार्की र लायन्स क्लव अफ विराटनगर एलिटका अध्यक्ष प्रा.डा.शान्ति सुवेदीले एक कार्यक्रमकाबीच निर्माण स्थलमा इटा राखेर शौचालय शिलान्यास गरेका छन् । कार्यक्रममा बोल्दै लायन्स क्लवका डिस्ट्रिक गर्भनर कार्कीले लायन्स क्लव एलिटले राम्रो काम गरिरहेको भनेर प्रशंसा गर्दै शौचालय निर्माणका लागि आफ्नो तर्फबाट पनि ११ हजार सहयोग गर्ने घोषणा गरे ।

विद्यालयका प्रधानाध्यापक सीता दाहालका अनुसार सिसुदेखि कक्षा ४ सम्म पढाईहुँने सो विद्यालयमा करिब ७० जना विद्यार्थी छन् । जसमध्ये झण्डै ५० जना छात्रा छन् । विद्यालयमा छात्र र छात्राका लागि बेग्ला–बेग्लै शौचालय छैन । उनीहरु एउटै शौचालय प्रयोग गर्दै आएका छन् । जसका कारण समस्या भएको बुझेर लायन्स क्लव एलिटले छात्राहरुका लागि बेग्लै शौचालय बनाइदिन लागेको हो ।

करिब दुई लाखको लागतमा पक्की शौचालय निर्माण गरिने लायन्स क्लव अफ विराटनगर एलिटका अध्यक्ष सुवेदीले जानकारी दिइन् । ‘छात्र र छात्राका लागि एउटै सामान्य शौचालय रहेछ, एकै ठाउँमा शौचालय जान अफ्ठेरो हुँने भएकाले हामीले छात्राहरुका लागि बेग्लै शौचालय बनाइदिन लागेका हौं,’ प्रा.डा.सुवेदीले भनिन्, ‘शिलान्यास भइसकेकाले अब काम सुरु गरेर चाँडै शौचालय निर्माण गराइदिन्छौ ।’

लायन्स क्लव एलिटमा आवद्ध सदस्यहरुले आफै रकम संकलन गरेर शौचालय निर्माण गर्न लागेका हुन् । उनीहरुले यसअघि पनि बिभिन्न सामाजिक काम गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!