धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले फुसको छानारहित गाउँपालिका निर्माण गर्ने अभियान अन्तरगत रङ्गिन जस्तापाता वितरण गर्न थालेको छ । नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत स्थानीय सरकारले सो अभियान शुरु गरेको हो ।
अभियान अन्तरगत चौबिसे गाउँपालिकाले वडा नं. ५ को बोधेमा ७० घर परिवारलाई रङ्गिन जस्तापाता वितरण गरेको छ । सो वडाका फुसको छाना भएका घरपरिवारलाई गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, वडाध्यक्ष पदम कुमार देवान लगायत जनप्रतिनिधिहरुको उपस्थितिमा जस्तापाता वितरण गरिएको हो । चौबिसे गाउँपालिकामा ८ वटा वडा छन् । वडा नं. ५ बाट थालिएको यो अभियान अब सबै वडाहरुमा सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए ।
वितरण गर्न शुरु गरिएका मध्ये वडा नं. २ मा ३० घर, वडा नं. ३ र ४ मा ५०/५० घर, वडा नं. ५ मा अघिल्लो वर्षकोसहित ७५ घर, वडा नं. ७ मा ४० घर र वडा नं. ८ मा ३० घर छन् । प्रत्येक घरलाई ५० हजार मुल्य बराबरको जस्तापाता वितरण गरिएको छ ।
संघीय सरकारको अनुदानबाट ६ वटा वडाहरुमा जस्तापाता वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । बाँकी १ र ६ नम्बर वडामा भने गाउँपालिकाको लगानीबाट वितरण गरिनेछ ।