संगालोखबर सम्बाददाता

विराटनगर । नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरेर प्रहरीले प्रदेश १ का १४ वटै जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैं, तिहार र छठ पर्वका बेला सर्वसाधरणको आवतजावत बढी हुँने भएकाले प्रहरीले यातायात क्षेत्रलाई व्यवस्थित गर्न सहायता कक्ष स्थापना गरेको हो ।

Advertisement

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण कुमार बिसीले आइतवार विराटनगर बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गरे । उनले प्रदेश १ का १४ वटै जिल्लाका बिभिन्न स्थानमा आइतवारदेखि नै यात्रु सहायता कक्ष सञ्चालन गरिएकाले यातायात क्षेत्रमा केही समस्या भएमा सहायता कक्षमा जानकारी गराउँन सबै नागरिकमा आग्रह गरेका छन् । ‘केही समस्या हुँदा यात्रुहरुलाई प्रहरी कार्यालयहरुसम्म पुगेर उजुरी गर्न समस्या हुँन सक्छ, त्यसैले हामीले १४ वटै जिल्लाका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौं,’ डिआइजी बिसीले भने, ‘केही समस्या वा गुनासो भएमा सहायता कक्षमा जानकारी गराइदिनुहोस्, हामी तत्काल त्यसको व्यवस्थापन गर्नेछौ ।’

सहायता कक्षमा प्रहरी बस्छन् । उनीहरुले यात्रुलाई समस्यारहित र सहज रुपमा गन्तब्यमा पुर्याउँन सहयोगीको भूमिका खेल्छन् । चाडपर्वका बेला सवारी साधनमा यात्रुको चाप बढी हुँने हुँदा गाडीमा बढी भाडा लिने, यात्रुमाथि अभद्र व्यवहार हुँने, ठगिने जस्ता गुनासोहरु बढी आउँने गरेका छन् । त्यस्ता समस्याको समाधानका लागि बसपार्क तथा सडकमै यात्रु सहायता कक्ष स्थापना गरेर प्रहरी परिचालन गरिएको हो । १४ वटै जिल्लाका यात्रु सहायता कक्ष कात्तिक अन्तिमसम्म सञ्चालन हुँने डिआइजी बिसीले जानकारी दिए । यसअघिका बर्षहरुमा पनि चाडपर्वका बेला प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गर्ने गरेको थियो ।

धनकुटाका तीन ठाउँमा यात्रु सहायता कक्ष
चाडपर्वलाई लक्षित गरेर धनकुटाका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । धनकुटा बसपार्क, भेडेटार र हिलेमा सहायता कक्ष स्थापना गरिएको हो । यात्राका क्रममा यात्रुहरुलाई पर्ने समस्याको तत्काल समाधानका लागि यात्रु सहायता कक्ष सञ्चालन गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी दिपक कुमार रायले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!