- संगालोखबर सम्वाददाता

धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन गर्यो । ६७ सदस्यीय भनिएको सो नगर कमिटीका वाँकी पदाधिकारी र सदस्यहरु ‘गोप्य’ राखिएको छ ।

Advertisement

नेकपा एमालेको ‘घेराबन्दी’ का कारण अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्यहरु ‘गोप्य’ राख्नु परेको सो पार्टीका नेताहरु बताउँछन् । एकीकृत समाजवादीमा लाग्नेहरुलाई एमालेका नेताहरुले घेराबन्दी र प्रलोभनमा पार्ने काम गरिरहेकाले पदाधिकारी र सदस्यहरु गोप्य राखिएको एकीकृत समाजवादीका नव निर्वाचित अध्यक्ष जोशीले बताए । ‘हाम्रो पार्टीमा लागेकाहरुलाई एमालेका नेताहरुले घर–घरमा पुगेर फकाउँने नभए धम्क्याउँने काम गरेर एमालेमै फर्कन बाध्य बनाउँन खोज्ने काम गरिरहेका छन्,’ नगर अध्यक्ष जोशीले संगालोखबरसँग भने, ‘६७ सदस्यीय नगर कमिटी बनेको छ, तर, अहिलेलाई म बाहेक वाँकी पदाधिकारी र सदस्यहरु गोप्य राख्ने कुरा भएको छ ।’

एकीकृत समाजवादीमा लागेकाहरुलाई एमाले नेताहरुले ‘टार्गेट’ गरेकाले गोप्य राख्नु परेको जोशी बताउँछन् । उनी भन्छन्, ‘मान्छे भड्काउँन घर–घरमा पुगिरहेका छन्, जागिरमा भएकाहरुलाई जागिर खोसिदिन्छौ भनेर धम्क्याउँछन्, कसैलाई के, कसैलाई के आश्वासन बाँढ्दै हिडेका छन्, त्यसैले अहिले सबैको परिचय नखुलाएका हौं ।’

एकीकृत समाजवादीले धनकुटा जिल्ला कमिटी पनि गोप्य राखेको छ । १ सय १ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको बताइएपनि अध्यक्ष अर्जुन राई र सचिव खगेन्द्र सुवेदी बाहेक अन्य पदाधिकारीको परिचय खुलाइएको छैन । बिभिन्न कार्यक्रमहरुमा कतिपय अगुवा नेताहरु खुलेपनि वाँकी पदाधिकारी तथा सदस्यहरु गोप्य राखिएको छ । धर्मराज पौडेल, डा.गोपालबहादुर भट्टराई, बंगला राई, मनोज चाम्लिङ्ग राई लगायत नेताहरु एकीकृत समाजवादीमा खुलेका छन् । एमालेको घेराबन्दीकै कारण तत्कालका लागि सबैको परिचय नखुलाइएको एकीकृत समाजवादीका अध्यक्ष अर्जुन राई बताउँछन् ।

पार्टीमा मान्छे नभएपछि भ्रम छरिदैछ: एमाले

यता, एमाले धनकुटा अध्यक्ष राजेन्द्र राईले एकीकृत समाजवादीमा लाग्नेहरुलाई ‘घेराबन्दी’ नगरिएको दावी गरेका छन् । ‘पार्टीमा मान्छे छैनन, अनि यत्ती संख्याको र उत्ती संख्याको कमिटी बनायौं भनेर हल्ला गर्ने काम मात्र गरेका हुन्,’ अध्यक्ष राईले संगालोखबरसँग भने, ‘जनताको मन जित्न नसकेपछि यो नाटक मात्र गरिएको हो, पार्टीमा प्रतिबद्ध मान्छे भए किन गोप्य राख्नुपर्यो ? यस्तो आरोप भनेको बैचारिक दरिद्रता मात्र हो ।’

पार्टीमा मान्छे नभएपछि एमालेलाई आरोप लगाएर एकीकृत समाजवादीले भ्रम छर्ने काम गरेको अध्यक्ष राईको तर्क छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!