विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले प्रदेश १ का सबै पालिकास्तरमा संगठन निर्माण तथा पुर्नगठन गर्ने निर्णय गरेको छ । सो संगठनको बुधबार विराटनगरमा बसेको प्रदेश समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको संगठनका प्रदेश संयोजक रुद्र सुवेदीले जानकारी दिए ।
कर्मचारी संगठनले ताप्लेजुङ, पाँचथर र इलामका कर्मचारी लक्षित गरी फिदिममा, सुनसरी, मोरङ, झापा र उदयपुरको चतरामा, संखुवासभा, तेह्रथुम, धनकुटा र भोजपुरको पाख्रिबासमा तथा सोलुखुम्बु, ओखलढुंगा र खोटाङको घुर्मिमा अगुवा संगठक प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
यस्तै कर्मचारीको संगठनको तर्फबाट लालीकिरण स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरेको सुवेदीले बताए । चार ठाउँको अगुवा संगठक भेलाबाट आवश्यक कार्यविभाजनसहित पालिकास्तरसम्म संगठन गठन र पुर्नगठनमा लाग्ने सुवेदीले जानकारी दिए ।उनले माओवादी निकट कर्मचारी संगठनमा विभाजन आएको र एमाले प्रवेश गरेको भन्ने कुरा गलत रहेको दाबी गरे । केही बद्नाम व्यक्तिहरु एमालेतिर लागेको भएपनि प्रदेश १ मा सिंगो कर्मचारी संगठन आफूहरुसँग रहेको उनको दाबी छ ।
सचिवालय बैठकपछि आजै प्रदेश १ को कार्यालय उद्घाटन भएको छ । विराटनगरस्थित सहिद रंगशाला अगाडि स्थापना भएको कार्यालयको माओवादी केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्लेले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै काफ्लेले माओवादीले नयाँ कम्युनिष्ट पार्टी र नयाँ क्रान्ति गर्न खोजेको भन्दै आ–आफ्नो ठाउँबाट लाग्न कर्मचारीहरुलाई निर्देशन दिए ।