संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको घटनाले नयाँ मोड लिएको छ । यसअघि स्थानीय नातेदार लोकबहादुर कार्की एक्लैले चिर्पटले हानेर ६ जनाको हत्या गरेको प्रहरीले बताएको भएपनि अहिले घटनाका मुख्य योजनाकारसहित थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

अनुसन्धानका क्रममा घटनाको गहिराइमा पुग्दा पाँच जना मिलेर हत्या गरेको पत्ता लागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले स्थानीय ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पनि पक्राउ गरेको छ । लोकबहादुर कार्कीसहित उनीहरु पाँच जनाले योजनाबद्ध रुपमा हत्या गरेको खुलेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले जनाएका छन् ।

यसअघि भदौ २६ गते प्रहरीले २५ वर्षीय लोकबहादुरलाई पक्राउ गरेको थियो । लोकबहादुरलाई पक्राउ गरेर थप अनुसन्धान गर्ने क्रममा अन्य व्यक्तिको संलग्नता खुलेपछि प्रहरीले उनीहरुलाई पनि पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार लोकबहादुरका काका खड्ग बहादुर हत्याको मुख्य योजनाकार हुन् । उनीहरुले योजनाबद्ध रुपमा हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको प्रहरी निरीक्षण सुभेष अधिकारीले जनाएका छन् ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । प्रहरीका अनुसार हत्याको अघिल्लो राती लोकबहादुरको घरमा बसेर खड्गबहादुरसहित चार जनाले हत्याको योजना बनाएका थिए । सोही अनरुप पाँच जना मिलेर कसैले चिपर्ट र कसैले छुरीले हानेर सामुहिक हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्याका अभियुक्त खड्गबहादुर नियमित रुपमा रक्सी खाई घरमा श्रीमति र परिवारका सदस्यहरुलाई गाली गलौज र कुटपिट गर्ने गर्थे । तेजकुमारले ‘त जड्याहा किन यसो गर्छस’् भन्दै गाली गरेका थिए । गाली गर्दा ‘तलाई के मतलब, तलाई मार्छु’ भन्दै खड्गबहादुरले झगडा गर्ने गरेका थिए ।

यता, लोकबहादुरलाई ‘त पागल, अल्छि, केही काम गर्न सक्दैनस्’, नरेशलाई ‘तं डुँडे काम नलाग्ने भइस्’, रणबहादुरलाई ‘त लठेब्रो केही गर्न सक्दैनस्,’ भनेर तेजबहादुरले हेप्ने गरेको र आफु सम्पन्न भएको फुर्ती दिने गरेको भनेर रिस उठेकाले हत्या गरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रहरीका अनुसार यसरी भएको थियो हत्या…

– घटना योजनावद्ध ढङ्गबाट ५ जनाको समूहले घटाएको जुन योजना अभियुक्त लोक बहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश कार्की समेत बसी बनाएको । योजना अनुसार घटनाको दिन २१ गते बिहान मृतक तेज बहादुर कार्की खेताला बोलाउन लोक बहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेजबहादुर र कमला कार्कीको हत्या गर्ने, अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकुल मिलेमा तेजबहादुरको घरमा भएको धनमाल समेत लाने योजना रहेको ।

– घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा आरोपीहरू खड्ग बहादुर कार्की, हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित भएको ।

–  योजनाअनुसार मृतक तेजबहादुर कार्की बिहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की बिहान ५ बजे तेज बहादुर कार्कीको घरमा गई ‘लोक बहादुर अल्छि छ घरमै गएर खेताला निश्चित गर्नु’ भनि तेज बहादुर कार्कीलाई लोक बहादुर कार्कीको घरतर्फ जान अभिप्रेरित गरि घर तर्फ फर्केको र तेज बहादुर लोक बहादुर कार्कीको घरतिर जाँदै गरेको देखे पछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चिर्पट बोकी तयारी हालतमा बसेको ।

–  मृतक तेज बहादुर कार्की बिहान ५ वजे उठी लोक बहादुरको घरमा खेताला निश्चित गई सुति रहेको लोक बहादुर लाई ‘अल्छि अझै सम्म उठेको छैनस्,’ भन्दै कराए पछि लोक बहादुर उठेको, लोक बहादुरको भाइ नरेश कार्की र बाबु रण बहादुर कार्की समेत घरमै रहेको । घरबाट फर्केने क्रममा योजनाअनुसार लोक बहादुरले भाइ नरेशलाई इसारा गरि आफूले दाउराको चिर्पट र अलैची काट्ने चक्कु बोकी पछि पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेज बहादुरको टाउकोमा प्रहार गरि लडाएको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चिर्पट लिई आई तेज बहादुर माथि प्रहार गरेको र हस्त बहादुरले चक्कुले पेटमा प्रहार गरि डिलबाट लडाईं बाटोमा झारी हत्या गरि घोप्टो पारेको ।

–  घटनाको बेला मृतकले ‘लोकेले मा¥यो, मलाई नमार’ भन्दै गरेको हार–गुहार सुने पछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेज बहादुरको श्रीमती र बुहारी आएकोमा लोक बहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाँटीमा हस्त बहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जना नरेशले ठेली खोल्सामा झारेको र खड्क बहादुर, लोक बहादुर र हस्त बहादुर मिलि हत्या गरेको । मृतक रञ्जनाको लास रण बहादुर र नरेश समेतले कमलाको लास भएको स्थान सम्म पु¥याउन सहयोग गरेको ।

– उक्त घटनाको बेला मृतक नाबालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखि हस्त बहादुर र लोक बहादुरले बाटो छेकी मुख थुनी लोक बहादुरले चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेको ।

– तत् पश्चात पाँचै जना अभियुक्तहरू मृतकको घरतर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याई रहेको अवस्थामा हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लगी लोक बहादुरले टाउको भित्तामा ठोक्काई घाँटी बटारी हत्या गरेको र सबैजना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकि लोक बहादुरको घरमा गई लागेको रगत पखाली छुरी घुई बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डडाएको, रगत लागेको कपडाहरू समेत लुकाएको । खड्ग बहादुर र निजको छोरा हस्त बहादुर घर तर्फ गएको । फर्कने क्रममा रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्विच अफ गरि घरमुनिको ओडारमा लगि लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको ।

–  पुनः खड्ग बहादुर र निजको छोरा हस्तबहादुर लोक बहादुरको घरमा गई सबै जना मिलि कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनि भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक बहादुरले मानसिक औषधि पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरि फर्केको ।

–  घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइल समेत बरामद गरि थप अनुसन्धान भइ रहेको ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!