- संगालोखबर सम्वाददाता


विराटनगर । प्रतिमान निमा स्मृति फाउण्डेशनले प्रदेश १ सरकारलाई करिब एक करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एक कार्यक्रमकाबीच मुख्यमन्त्री भीम आचार्यलाई फाउण्डेशनको तर्फबाट सामाग्री हस्तान्तरण गरिएको हो ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि फाउण्डेशनले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । अमेरिकी गैर सरकारी संस्था प्रोजेक्ट होपको सहयोगमा फाउण्डेशनले स्वास्थ्य सम्बन्धि ११ प्रकारका विभिन्न सामानहरु हस्तान्तरण गरेको फाउण्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन् ।

Advertisement

गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ थान, मास्क ८ हजार ४ सय थान, एन ९५ डिस्पोजेबल मास्क १ हजार ८ सय थान, डिजिटल थर्ममिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड १ हजार ८ सय ९० थान, पीपीई मेडियम २७६, पीपीई लार्ज २७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५ हजार ३ सय ६० थान प्राप्त भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले फाउण्डेशनको सामाजिक सेवा उल्लेखनीय रहेको बताए । २००७ सालका क्रान्तिका योद्धा स्व.प्रतिमान चन्द्र बोहोराको स्मृतिमा परिवारले फाउण्डेशन खोली स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै मुख्यमन्त्री आचार्यले परिवारलाई धन्यवाद पनि दिए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले आगामी दिनहरुमा प्रदेश सरकारसँग समन्वय गरि कोरोना महामारीसँग लड्न र बच्नका लागि आवश्यक पर्ने थप सामाग्री, प्रशिक्षणलगायत सहयोग गर्ने बताइन् ।संस्थाले यस अघि ५ वटा प्रदेशमा स्वास्थ्य सामाग्री प्रदान गरिसकेको छ । केही दिनमा लुम्बिनी प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक थापाले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!