- संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले आइतवार सार्वजनिक गरेको छ । चैनपुरमा प्रहरीले पत्रकार सम्मेलन गरेर हत्या आरोपित लोकबहादुरलाई सार्वजनिक गरेको हो ।

हत्या आरोपित २६ वर्षीय लोकबहादुर र मृतक ५२ वर्षीय तेजबहादुर काका–भतिज हुन् । लोकबहादुरका हजुरबुवा र मृतक तेजबहादुरका बुबा दाजुभाइ हुन् । लोकबहादुरले आफुले ६ जनाकै हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । भदौ २१ गते विहान आमा पार्वती कार्की, छोरा तेजबहादुर, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना, पनाति ८ वर्षका दिपेन र ५ वर्षीया गोमाको हत्या भएको थियो ।

प्रहरीका अनुसार लोकबहादुरका हजुरबुवाले आफ्नो मृत्यु हुँने बेलामा आफ्ना छोराहरुको पनि रेखदेख गर्न तेजबहादुरलाई भनेका थिए । तेजबहादुरले पनि सोही अनुसार बेला–बेला उनीहरुको घरमा गएर रेखदेख गर्ने र सम्झाउँने गर्थे । यता, भतिज लोकबहादुर भने भनेको नमान्ने र अल्छी भएको भन्दै तेजबहादुरले बेला–बेला गाली गर्ने गरेका थिए । भतिजोलाई गाली गर्दा उनले काम नलाग्ने, पागल जस्ता शब्द प्रयोग गर्ने गरेकाले उनीप्रति लोकबहादुर रुष्ट थिए । घटना भएको दिन लोकबहादुरका दाजु भाईलाई तेजबहादुरले खेताला बोलाएका थिए ।

घटना हुने दिन बिहानै तेजबहादुर उनकै घरमा खेताला बनाउँन गएका थिए । बिहानै उठाउँदा लोकबहादुर रिसाएर झोक्किए । विगतदेखि नै आफूलाई गालीगलोज गर्ने गरेकाले रुष्ट रहेका लोकबहादुरले तेजबहादुरलाई पछ्याउँदै गए । बाटोमा पुगेपछि उनले तेजबहादुरको टाउकोमा २–३ पटक चिर्पटले हाने । भतिजोले चिर्पट प्रहार गरेपछि तेजबहादुरले ‘लोकेले मा¥यो’ भन्दै चिच्याए ।

कराएको सुनेपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना दौडिँदै आए । त्यो देखेपछि लोकबहादुरले तेजबहादुरको लासलाई कान्लामुनि धकेले । त्यसपछि काकीलाई पनि त्यही चिपर्टले हाने र खोल्सीमा झरे । त्यो देखेर बुहारी रञ्जना बेहोस भएर ढलिन् । रञ्जनालाई पनि उनले चिपर्टले हाने । कमला र रञ्जनालाई पछ्याउँदै आएका दुई नाबालक दिपेन र गोमालाई पनि लोकबहादुरले लखेटी–लखेटी चिर्पटले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

चिर्पटले हानेर ५ जनाको हत्या गरेपछि उनी तेजबहादुरकै घरमा पुगे । घरमा कुँडो पकाइरहेकी हजुरआमा पार्वतीलाई पनि उनले भित्तामा टाउको बजारेर हत्या गरेको पाइएको डिआइजी अरुण कुमार विसीले बताए । ६ जनाको हत्यापछि लोकबहादुर घरमा गएर घटनामा प्रयोग भएको चिर्पट आगोमा जलाएर प्रमाण मेटाउँने प्रयास गरेको प्रहरीको भनाई छ ।

प्रहरीले सुरुमा व्यक्तिगत रिसिइबी, सुनियोजित हत्या, लुटपाटका लागि हत्या भएको हुनसक्ने आशंका गरेर अनुसन्धान अघि बढाएको थियो । घरमा भएको सम्पत्ति र मृतकले लगाएको गरगहना सुरक्षित भेटिएपछि लुटपाटका लागि हत्या नभएको प्रहरीले निष्कर्ष निकाल्यो । बाहिरबाट आएर घटना गराएको जस्तो पनि देखिएन ।

सोधपुछका क्रममा शंकास्पद लागेपछि प्रहरीले लोकबहादुरमाथि निगरानी केन्द्रित गर्यो । सोही क्रममा उनले हत्या गरेको स्वीकारेका हुन् । हत्या भएको पाँच दिनपछि प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!