- संगालोखबर सम्वाददाता

धनकुटा । कोरोना संक्रमणबाट मृत्यु भएका नेता कार्यकर्ताको सम्झना गर्दै नेकपा एमाले धनकुटाले छथर जोरपाटी गाउँपालिकाको काजीमाने बजारमा शुक्रबार श्रद्धाञ्जली सभा गरेको छ । छथर जोरपाटी गाउँपालिका–४ घर भएका जिल्ला कमिटी सदस्य स्व.चन्द्र चोङ्गवाङ (लिम्बू), वडा नं. ३ घर भएका जिल्ला कमिटी सदस्य स्व.शानबहादुर लिम्बू, वडा कमिटीमा आवद्ध भई पार्टीको सेवा गर्दै आएका स्व.दुर्गा प्रसाद ओझा र स्व.कर्णबहादुर लिम्बूको सम्झनामा एमालेले श्रद्धाञ्जली सभा गरेको हो ।

Advertisement

ताँखुवा, तेलिया, चुलाचुली र परेवादिन गाउँको संगमस्थल काजीमानेमा श्रद्धाञ्जली तथा शोक सभा गरेर एमालेले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको हो । श्रद्धाञ्जली सभा व्यवस्थापन उप–समिति संयोजक तथा एमाले जिल्ला कमिटी सदस्य शेरबहादुर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा मृतकका परिवारलाई एमाले पार्टी मातहतका जनवर्गीय संगठन तथा स्थानीय बिभिन्न संघ/संस्थाहरुले समवेदना पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले मृतकहरुको योगदानको चर्चागर्दै निधनले पार्टीलाई अपूरणीय श्रति पुगेको बताए । एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद इन्द्रमणी पराजुली, प्रदेश सदस्य गणेश राई (उज्ज्वल), जिल्ला सचिव निरन राई, जिल्ला कमिटी सचिवालय सदस्य तथा राष्ट्रिय यूवा संघका केन्द्रिय सचिव बलदिप राई, छथर जोरपाटी गाउँपालिका कमिटीका अध्यक्ष ईन्द्र सारु मगर लगायतले श्रद्धाञ्जली सभालाई सम्बोधन गरेका थिए ।

५६ बर्षीय स्व.चोङ्गवाङको गत बैशाख ३१ गते निधन भएको थियो । उनी २०४९ सालदेखि दुई कार्यकालसम्म एमालेबाट बिजयी भई साबिक तेलिया गाबिसको अध्यक्ष भएका थिए । त्यस्तै, शानबहादुरको ६६ बर्षको उमेरमा जेठ १६ गते निधन भएको हो । उनी पनि २०४९ सालको गाउँ बिकास समिति स्तरीय चुनावमा तत्कालिन ताँखुवा गाबिसको उपाध्यक्षमा बिजयी भएका थिए ।

त्यस्तै ८३ बर्षको उमेरमा २०७७ साल कार्तिक ६ गते निधन भएका ओझा २०४९ सालमा नेकपा एमालेबाट साबिक तेलिया गाबिसको अध्यक्षमा निर्वाचित भएका थिए । ७८ बर्षको उमेरमा बैसाख २७ गते निधन भएका कर्णबहादुर वडा पार्टी कमिटीमा आवद्ध थिए । कोरोना संक्रमणका कारण निधन भएका चारै जना नेताहरुको योगदानका बारेमा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य शिब आङ्ला लिम्बूले जानकारी गराएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!