विराटनगर । खोटाङ, सोलुखुम्बु र उदयपुरका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।
गएराती साढे ८ बजे बालुवा लिएर जाँदै गरेको ना ५ त ६६०१ नम्बरको ट्याक्टर खोटाङको केपिलासगढी–५ भुताप्सुस्थित जंगलको भीरबाट करिव १५० मिटर तल खसेर दुर्घटना भएको छ दुर्घटनामा ट्याक्टरमा सवार स्थानीय २३ बर्षीय दिनेश राईको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक स्थानीय १९ बर्षीय उमेश राई घाइते भएका छन् । स्थानीय मेडिकलमा उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । त्यस्तै ट्याक्टरमा सवार एक जनाले ट्याक्टरबाट हाम फालेर ज्यान बचाएका छन् ।
यसैगरी सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–५ स्थित दियालेमा शनिवार दिउँसो साढे २ बजे बा ५४ प ७७२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा चालक माप्य दुधकोशी–२ खालिका ३० बर्षीय सुमन राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता, उदयपुरको त्रियुगा नगरपालिका–३ लच्कास्थित कदमा–गाईघाट सडकखण्डमा शनिवार साँझ सवा ६ बजे गाईघाटबाट मोतिगडातर्फ जाँदै गरेको प्र १००–५००१ प ३७१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । पोलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३२ बर्षीय शान्तिराम राई गंभीर घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।