सुनसरी । भरुवा बन्दुक पड्काएको थाहा पाएपछि सुनसरीको बराहक्षेत्रका एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र–१ का ६३ बर्षीय बरमबहादुर राईलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो ।
गत मंगलबार राईले बाँदरलाई गोली हान्दा छर्राले लागेर उनकै नाती १३ बर्षीय अभिषेक घाइते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । बन्दुकको छर्राले लागेर वालक घाइते भई उपचारका लागि लगिएको थाहा पाएपछि प्रहरीले घटनाको विषयमा चासो देखाएर गोली हान्ने बरमबहादुरलाई खोजी गरिरहेको थियो ।
खोजतलासकै क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हिजो राईलाई विराटनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर लगिएको छ । उनको घरमा आज खानतलासी गर्दा एक नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । उनीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग र हातहतियार मुद्दा दर्ता गरेर कारबाही प्रकृया अघि बढाएको छ ।
















