रासस

विराटनगर । विराटनगरको हाट खोलामा जिल्ला कारागारको अत्याधुनिक भवन निर्माण गर्न लागिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले निर्माणाधीन भवन शिलान्यास गरेका छन् ।

Advertisement

भवन शिलान्यास गर्दै प्रजिअ निरौलाले भवन निर्माणका क्रममा गुणस्तरतामा ध्यान दिन र निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले भवनमा बस्ने कैदीबन्दीको जीवन सुरक्षा गर्नु राज्यको दायित्व भएकाले निर्माणमा कुनै कमी कमजोरी हुन नहुनेमा जोड दिए । ३० करोड ८३ लाखको लागतमा निर्माण गर्न लागिएको सो भवन आशिष, आशीर्वाद, स्वामी नारायण जेभीले बोलपत्र कबुल गरेको छ । २०८० पुस २४ गतेभित्र निर्माण सम्पन्न गरिने सो भवन ३६ हजार ८८३ वर्ग फिटको हुने सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिए ।

कूल १० कठ्ठा १० धुर जग्गामा निर्माण गर्न लागिएको सो भवनमा महिला र पुरुष कैदी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्रशासन, कारागार प्रमुख, चमेनागृह र आगन्तुकका लागि अलग–अलग कक्ष रहने छ । भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएको छ । हाल जिल्ला कारागार भएकै ठाउँमा बन्ने सो भवनमा महिला कैदीका लागि ८८ शय्या र पुरुष कैदीका लागि २५० शय्या हुनेछ । हाल पुरानो कारागारमा ७१ महिलासहित ९२९ कैदीबन्दी रहेको कारागार प्रशासनका कर्मचारी रामप्रसाद पोखरेलले जानकारी दिए । नयाँ भवन बनेपछि पनि पुरानो भवनलाई कैदीबन्दीकै लागि प्रयोग गरिने भएको छ ।

कारागारको कूल क्षेत्रफल तीन बिघा जग्गा छ । सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नयाँ भवन कैदीबन्दीका लागि निकै सहज हुने बताए । निर्माण कम्पनीका प्रमुख केशर बुढाथोकीले राज्यले लगानी गरेको यस प्रकारको भौतिक सम्पत्तिमा कुनै कमी हुन नदिने र निर्धारित समयमै भवन निर्माण गरिने प्रतिबद्धता जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!