संगालोखबर सम्वाददाता

विराटनगर । विदेशबाट झुक्किएर अर्कैको शब आएपछि परिवारले मत्यु भएको ठानेर दाहसस्कार गरी मृत्युदर्ता गरिएका मोरङको बेलबारीका सुभाष तामाङले ६ बर्षपछि बिहिबार नागरिकता पाएका छन् । दुर्घटनामा परेर मृत्यु भएको भनेर सुभाषको घरमा विदेशबाट शव आएपछि २०७२ साउन ६ गते उनको मृत्यु दर्ता गरिएको थियो । सरकारी अभिलेखमा मृत्यु भएको भनेर उल्लेख भएका सुभाषलाई जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता प्रदान गरेको हो ।

Advertisement

भोजपुरको षडानन्द नगरपालिका–२ मा पुख्र्याैली घर भई मोरङको वेलवारी–११ लक्ष्मीमार्गमा बस्दै आएका तामाङ परिवारमा खुसी ल्याउने सपना बोकेर २०७१ सालमा बैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । साउदीको हुन्डाइ कम्पनीमा काम गर्दै आएका उनको तलब बैकमार्फत आउथ्यो । बैंकबाट तलब लिएर फर्कने क्रममा २०७२ असार २४ गते उनी सवार गाडी दुर्घटना भयो । दुर्घटनामा सुभाषको मृत्यु भयो भनेर परिवारमा खबर आयो । साउदीमै रहेका आफन्तले शव नेपाल पठाउन पहल गरे । १५ दिनमा शव त्रिभुवन विमानस्थल आइपुग्यो । श्रीमती सन्तोषी र बुबा हर्कबहादुर शव ल्याएर रितिरिवाज अनुसार दाहसंस्कार गरे । परिवार शोकमा डुब्यो ।

केही महिनापछि सुभाषकी श्रीमती सन्तोषीलाई विदेशबाट सुवासका साथीको फोन आयो, ‘भाउजु सुवास दाइ त जिउँदै हुनुहुँदो रहेछ । अस्पतालमा उपचार हुँदैछ ।’ श्रीमानको मृत्यु भएको भनेर दाहसंस्कार गरिसकेपछि श्रीमान जिउँदै रहेको खबर सुन्दा उनी झस्किइन्, पत्याउँनै गाह्रो भयो । उनले फिल्मको कथा जस्तै महसुस गरिन् । श्रीमान ज्यूदै रहेको खबर सुन्दा उनमा खुशीको सिमानै रहेन ।

अन्ततः सुवास भनेर दाहासंकार गरेका ब्याक्ति वाग्लुङका टेकेन्द्र भण्डारी रहेको खुल्यो । एउटै कम्पनीमा काम गर्ने ४ जना तथा ट्याक्सी ड्राइभरसहित पाँच जना सवार रहेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो, एक जना घाइते भएका थिए । मृतक र घाइतेको पहिचान राम्रोसँग नहुँदा भण्डारीको शव सुभाषको घरमा पठाइएको खुल्यो । गम्भीर घाइते सुभाष ६ महिनाको उपचारपछि निको भएर नेपाल फर्किए । दाहसस्कार भइसकेकाले उनलाई पुर्नजन्म भएको हिसावले सस्कार गरेर घर भित्र्याइयो ।

कानुनी रुपमा मृत्युदर्ता भइसकेकाले उनलाई कामकाजमा समस्या भएको थियो । उनले आफ्नो मृत्युदर्ता खारेज गरिदिन माग गर्दै वडा कार्यालयदेखि जिल्ला प्रशासनसम्म पटक–पटक धाए । मृत्युदर्ता भइसकेको व्यक्तिलाई नागरिकता दिन समस्या हुँने भन्दै सरकारी कार्यालयले नागरिकता नदिदा सुभाषले सास्ती बेहोर्नु परेको विषयमा बिभिन्न सञ्चारमाध्यमले खबर प्रकाशन गरेका थिए । अन्ततः जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई नागरिकता प्रदान गरेको हो । तामाङलाई बोलाएर नागरिकता प्रदान गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए । श्रीमतीसहित एक छोरा र एक छोरी रहेका सुभाष अहिले सफारी चलाएर जिविका चलाउँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!