धनकुटा । मानव अधिकार एलाइन्स धनकुटाले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ वुँदे ध्यानाकर्षण पत्र पठाएको छ । नयाँ सरकार गठन भएको एक महिनाको अवधिमा सरकारबाट भएका केही निर्णयहरुले मुलुकको मानव अधिकारको अवस्थालाई गम्भीर प्रभाव पार्ने देखिएको भन्दै एलाइन्सले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो ।
ध्यानाकर्षण पत्र बुझाउँन एलाइन्स सम्बद्ध सदस्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए । १६ वटा सदस्य संस्थाहरुको तर्फबाट तयार गरिएको ध्यानाकर्षण पत्र एलाइन्सकी सचिव सूर्यकला खनालले सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठलाई हस्तान्तरण गर्दै प्रधानमन्त्रीसमक्ष पुर्याइदिन आग्रह गरिन् ।
सरकारले भूमि सम्वन्धी समस्या सामाधान आयोग खारेजी गर्ने निर्णय गरेर संविधान प्रदत्त आवासको हक, दलितको हक र सामाजिक न्यायको हक सुनिश्चितता हुँनेमा अन्यौलता देखिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । सो निर्णय मानव अधिकार र सामाजिक न्यायविरुद्धको काम भएको भन्दै निर्णय फिर्ता गर्न माग गरिएको छ ।
दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीहरुबाट तुइन काटेर महाकाली नदीमा झारेर बेपत्ता बनाइएको घटनाको उचित छानविन गरी दोषीलाई कारबाही गरेर सीमा क्षेत्रका बासिन्दाको सुरक्षा ग्यारेन्टी गर्न माग गरिएको छ । त्यस्तै, पालिका–पालिकामा पीसीआर परीक्षणको व्यवस्था गर्न, संक्रमितको भरपर्दो उपचारको प्रवन्ध मिलाउँन र सम्पूर्ण नागरिकलाई खोपको व्यवस्था गर्न पनि ध्यानाकर्षण गराइएको छ ।
यस्तो छ ध्यानाकर्षण पत्र…


















