विराटनगर । उद्योग संगठन मोरङले उद्योग र विश्वविद्यालयवीचको सम्बन्ध बढाउँदै आर्थिक विकासका बिभिन्न आयामहरुमा अध्ययन अनुसन्धानका कार्यक्रमहरु सञ्चालन गर्न स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालन गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन गरिने यो औद्योगिक अध्ययन केन्द्रलाई मुलुककै आर्थिक एवं औद्योगिक क्षेत्रको नमुना सिकाई केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
यो बिषयमा बिहिबार उद्योग संगठन मोरङ र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले औद्योगिक क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिक विज्ञहरुको ऐकेडेमिक ज्ञानलाई आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यका साथै विश्वविद्यालय र उद्योगबीचको प्राज्ञिक एवं व्यवसायिक सम्बन्ध स्थापित गरि अध्ययन अनुसन्धान एवं सिकाईको प्रकृयालाई अघि बढाउन केन्द्रले भूमिका निर्वाह गर्ने वताए ।
संगठनका पूर्व अध्यक्ष एवं वरिष्ठ उद्योगपति, समाजसेवी स्वं महेन्द्र गोल्छाको स्मृतिमा स्थापना गरिएको यो केन्द्रले आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिक अध्ययन अनुसन्धान तथा नीति विश्लेषण गर्न विश्वविद्यालयका युवा अनुसन्धानकर्ताहरुलाई प्रेरित गर्ने अध्यक्ष प्याकुरेलले विश्वास व्यक्त गरे ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.यादवराज कोइरालाले अनुसन्धानको माध्यमबाट उद्योगको समस्या पहिचान गरी नीति निर्माण तहमा सुझाव प्रस्तुत गर्न दुवै पक्ष्ँवीच भएको समझदारीले सहयोग पुर्र्याउने वताए । सुदृढ आर्थिक एवं सामाजिक विकासका लागि नया नवउद्यमशिलतालाई समानान्तर रुपमा प्रवद्र्धन गर्दै लैजानु पर्ने धारणा राख्दै उपकुलपति कोईरालाले उद्यमी र प्राज्ञिक वर्गलाई अपनत्व हुने गरी केन्द्रले काम गर्ने बताए ।
अध्ययन अनुसन्धान केन्द्रका संयोजक एवं पूर्वाञ्चल विश्वविद्यालयका डिन फयाकेल्टि अफ म्यानेजमेन्ट डा. विजु थपलियाले केन्द्रले उद्योगको नीति निर्माण, नीतिगत वहस र पैरवी, उद्योगी र विश्वविद्यालयवीच अन्तरसम्वादको वातावरण तयार गर्न नयाँ आयाम थप्ने वताए ।
संगठनका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, उपाध्यक्ष राजकुमार गोल्छा र नन्दकिशोर राठीले स्व. महेन्द्र गोल्छाको योगदानको चर्चा गर्दे केन्द्रले युवा शोधार्थीहरुलाई औद्योगिक क्षेत्रमा प्राज्ञिक अध्ययन अनुसन्धान गर्न प्रोत्साहित गर्ने वताउँदै केन्द्रले विविध विषयका विज्ञहरुको उत्पादन एवं अनुसन्धानका लागि मानव श्रोतको उपलब्धता सहज बनाई औद्योगिक क्षेत्रको दायरा फराकिलो बनाउने विश्वास व्यक्त गरे ।
केन्द्रका सहसंयोजक एव संगठनका कार्यसमिति सदस्य ईन्द्र खत्री राजनले केन्द्रले आर्थिक क्षेत्र र अनुसन्धानको क्षेत्रलाई जोडदै युवा पिडिलाई आर्थिक विषयहरुमा अध्ययन अनुसन्धान गर्न प्रोत्साहित गर्ने जानकारी दिए । कार्यक्रममा केन्द्रका सदस्य एवं स्व. गोल्छाकी छोरी युक्ति गोल्छाले आफना पिताको स्मृतिलाई दीर्घकालीन आर्थिक योगदान गर्न मद्दत गर्ने गरी गरिएको यस कार्यक्रमको सफलताको कामना गर्दै आफनो तर्फबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्रको संयोजकमा प्राध्यापक डा. विजु थपलिया, सहसंयोजकमा ईन्द्र खत्री (राजन), सदस्यमा युक्ति गोल्छा, प्राध्यापक देवी भट्टराई, प्रशान्त कुमार लाल र सदस्य सचिवमा संगठनका महानिर्देशक चुडामणि भट्टराई चयन भएका छन् ।
















