संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको सुन्दरहरैँचाको एक सुनचाँदी पसलमा बन्दुक देखाएर लुटपाट गर्न खोज्ने छ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुन्दरहरैंचा नगरपालिका १० विराटचोकमा खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्स सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्नेहरुलाई १२ दिनपछि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

Advertisement

पक्राउ पर्नेहरुमा संखुवासभाको सभापोखरी गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका २० बस्दै आएका ३९ बर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढीगाँउपालिका १ का ४५ बर्षीय डाइमन्ड भनिने प्रमोद चौधरी, संखुवासभा बारबिसे गाउँपालिका ६ घर भई इटहरी उपमहानगरपालिका २० बस्दै आएका ३० बर्षीय चिरन्जीवी राई, सुन्दरहरैचा ५ का २२ बर्षिय मिसन राई, भोजपुरको पौवादुम्मा गाउँपालिका ३ घर भई इटहरी २० तरहरा बस्ने नगेन्द्र राई र सुन्दरहरैंचा बस्ने ३१ बर्षिय सन्तोष राई छन् । लुटपाटमा ७ जनाको संलग्नता देखिएपनि एक जना भने पक्राउ परेका छैनन् ।

पक्राउ परेका मध्ये चन्द्रबहादुर र डाइमन्ड भनिने प्रमोद घटनाको मुख्य योजनाकार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए । एसपी जिसीका अनुसार चन्द्रबहादुर सेरदलगण ओखलढुङ्गामा नेपाली सेनाको जवानमा कार्यरत थिए । प्रमोद माओवादीका पूर्व कार्यकर्ता हुदै कर्तब्य ज्यानमुद्दामा कैद भुक्तान गरिसकेका व्यक्ति हुन् ।

उनीहरुको साथवाट एसएमजी एक थान, म्यागजिन १ थान, गोली ६२ राउन्ड, कटुवा पेस्तोल १ थान, अटोमेटिक पेस्तोल १ थान, अटोमेटिक पेस्तोलको म्यागजिन १ थान र गोलि २ राउन्ड, ३०३ राइफलको ४ राउन्ड गोली, एमआरपी लेखिएको सञ्चार सेट २ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए । लुटपाट गर्ने योजना बनाएर आएपनि उनीहरुले लुटपाट गर्न असफल बनेपछि सुन्दहरैंचा र इटहरीको सिममा पर्ने बुढी खोलाको बाटो हुदै नुमुना सामुदायिक बनमा ध्वान्द्रो परेको रुखको टोड्कामा हातहतियार लुकाएका थिए । उनीहरुले को.२ ह.२७३६ नम्बरको अटो रिक्सा आपैm चलाएर पसलको चियो गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रयोग गर्दै आएको अटो रिक्सा, प्रदेश १–०२–०४४ प ५९९५, को २० प १८६, को ८ प ६५८३ र को २१ प ६७०३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुविरुद्ध मुद्दा दायर गरी थप अनुसन्धान बढाइने प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!