- रासस
सांकेतिक तस्वीर

काठमाडौं । झापाको पाडाजुगीदेखि मोरङको उर्लाबारीसम्मको विद्युत प्रशारण लाइन निर्माणमा अवरोध भएको छ । स्थानीयबासीको अवरोधका कारण प्रशारण लाइन निर्माणमा समस्या भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पाडाजुगी–उर्लाबारी ३३ केभी प्रसारण लाइन निर्माणमा आज अवरोध गरिएको छ । उर्लाबारी नगरपालिका–८ स्थित अठियाबारीका बासिन्दाले बत्ती बाल्नका लागि लाइन हुँदाहुँदै अर्को लाइन किन तानेको भन्दै निर्माणमा अवरोध गरेका हुन् । सो प्रसारण लाइनको लम्बाइ १६ किलोमिटर छ । आन्दोलनरत पक्षले लाइन नै तान्न नदिने अडान लिएका कारण त्यस क्षेत्रमा ३०० मिटर लाइन तान्न नसकिएको प्राधिकरणले जारी गरेको प्रेसनोटमा उल्लेख छ ।

अवरोधका कारण उर्लाबारीमा निर्माण गरिएको ३३/११ केभी सबस्टेशन सञ्चालनमा ल्याई विद्युत् आपूर्ति हुन सकेको छैन । नगर प्रमुख, उपप्रमुख, आन्दोलनकारीलगायतका सरोकारवालासँगको केही दिनअघि छलफल गरी निर्माण शुरु गर्ने विषयमा सहमति भएको थियो । तर, केही व्यक्तिले असहमति जनाउँदै निर्माणमा पुनः अवरोध गरेका हुन् । मोरङको उर्लाबारी, रतुवामाई पथरी शनिश्चरे नगरपालिका क्षेत्रका बासिन्दाले बेहोरिरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न प्रसारण लाइन र सबस्टेशन निर्माण शुरु गरिएको प्राधिकरणको भनाइ छ ।

एशियाली विकास बैंकको ऋणमा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारअन्तर्गत सञ्चालित आयोजनाको निर्माण सम्पन्न भएपछि त्यस भेगका करीब तीन लाख उपभोक्ताले गुणस्तरीय र भरपर्दो विद्युत् उपभोग गर्न पाउनेछन् । हाल उक्त स्थानमा झापाको दमकबाट दुईवटा ११ केभी फिडर लाइनमार्फत विद्युत् आपूर्ति गरिएको छ । लाइनको लम्बाइ अत्यधिक भएकाले सामान्य अवस्थामासमेत विद्युत् आपूर्तिमा समस्या आउने गरेको छ । सोही कारण फिडर लाइनको ओभरलोड र ट्रिपिङको समस्या अत्यधिक छ ।

समस्या समाधान गरी प्रसारण लाइन निर्माण सम्पन्न गर्न आफूहरु लागिपरेको प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाका सहायक इन्जिनीयर दुर्गादत्त सुवेदीले बताए । आयोजनाका साइट इन्जिनीयर शैलेश सापकोटाले स्थानीयवासीले राखेको माग सम्बोधन गरेर प्रसारण लाइन निर्माण गरिने बताए । स्थानीयवासीले प्रसारण लाइन निर्माणको डिजाइन एन्ड ड्रइङ देखाउन भनेको तथा केही अनावश्यक मागसमेत राखेको उनको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!