- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटा बजारमा रहेको निशान भगवती मन्दिरमा तामाको छानो लगाइएको छ । मन्दिरमा तामाको छानोसँगै तेलिया इँटा पनि लगाइएको हो । चौथो चरणमा सम्पन्न स्तरोन्नत मन्दिरको आज प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन् ।

Advertisement

मन्दिरमा राखिएको शिलालेखको पर्दा खोल्दै प्रधान सेनापति थापाले स्तरोन्नत मन्दिरको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै थापाले नेपाली सेना र आम नागरिकको सहकार्यबाट निशान भगवती मन्दिरको स्वरुप फेरिएको बताए । उनले सधै नागरिकहरुसँग सहकार्य र समन्वय गरेर नेपाली सेना अघि बढ्ने धारणा राखे । उद्घाटन कार्यक्रमका लागि नेपाली सेनाको हेलिकप्टरबाट धनकुटा आएका थापा कार्यक्रम सकिएपछि आजै काठमाडौं फर्किएका छन् ।

मन्दिरलाई आकर्षक बनाउँन स्तरोन्नती गरिएको हो । नेपाली सेना, स्थानीयबासी लगायतबाट संकलित ६४ लाखको लागतमा मन्दिरमा तामाको छानो र तेलिया इँटा लगाइएको सो अभियानका प्रचार प्रशार समिति संयोजक एवं पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राईले बताए । निशान भगवती जिल्लाकै पहिलो तामाको छानो भएको मन्दिर भएको छ । मन्दिर मात्र नभइ धनकुटाका अन्य कुनै पनि भवनमा तामाको छानो छैन ।

२ सय बर्षभन्दा पुरानो इतिहास रहेको निशान मन्दिरको चार वटै तहका छानोमा तामा लगाइएको छ । त्यस्तै, मन्दिरको भित्तामा तेलिया इँटा लगाइएको हो । २ सय भन्दा बढी दाताहरुबाट संकलित रकमबाट तामाको छानो र तेलिया इँटा लगाएर निशान मन्दिरको स्वरुप फेरिएको निशान संरक्षण उपसमितिका आर्थिक प्रमुख दोर्ण गुरागाईँले जानकारी दिए । उनका अनुसार आम दाताहरुले प्रतिव्यक्ति ७ हजारदेखि २५ हजार रुपैयाँसम्म रकम सहयोग गरेका छन् । ‘सैनिक चिफबाट १० लाख प्राप्त भएको छ, त्यस्तै २ सय भन्दा बढी दाताहरुबाट रकम संकलन गरेर मन्दिरको स्तरोन्नती गरेका हौं,’ गुरागाईँले भने ।

तामाको छानो लगाउन इटहरी, झुम्का लगायत गणहरुका गणपतिले पनि आर्थिक सहयोग गरेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी जवानहरुको तर्फबाट पनि १ लाख ६९ हजार २ सय ५५ रुपैयाँ निशान संरक्षण समितिलाई हस्तान्तरण गरिएको थियो ।

तामालाई ऐतिहासिक र शुभ संकेतको प्रतिक मानिने भएकाले मन्दिरमा तामाको छानो लगाइएको निशान संरक्षण समितिका सदस्य सचिव जनार्दन घिमिरेले बताए । ‘सुन, चाँदी र तामाको ऐतिहासिक महत्व भएकाले मन्दिरमा लगाउने चलन छ,’ घिमिरेले संगालोखबरसँग भने, ‘अहिले हामीले सुन र चाँदीको छानो लगाउन सम्भव छैन, बलियो, घाममा नफुट्ने र पछि सुनको जलप लगाउनु पर्यो भने पनि सहज हुने भएकाले तामाको छानो लगाएका हौं ।’

भिडियो…

तस्वीर /भिडियो : सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!