संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नंम्बर ४ का वडाध्यक्ष सोबित निरौलाले प्रहरीसमक्ष गिरफ्तारी दिएका छन् । पाख्रीबास नगरपालिकाको आठौं नगरसभामा तोडफोड भएको घटनामा वडाध्यक्ष निरौलासहित १५ जनाविरुद्ध प्रहरीमा उजुरी परेपछि उनले बिहिबार प्रहरीसमक्ष गिरफ्तारी दिएका हुन् ।

Advertisement

राजनीतिक पूर्वाग्रहका आधारमा बजेटको सिलिङ तोकिएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी सम्वद्ध नेता, कार्यकर्ताले पाख्रीबास नगरसभा चलिरहदा विरोध प्रदर्शन गरेका थिए । सोही क्रममा नगरसभाभित्र पसेर हुलदंगा र तोडफोड भएको थियो । तोडफोडबाट नगरको सभाहलका आधा दर्जन झ्यालका सिसा फुटेका छन् भने दर्जनौ कुर्सी तोडफोड भएका छन् ।

तोडफोडमा संलग्न भएको भन्दै पाख्रीबास नगरपालिकाको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा १५ जनाविरुद्ध किटानी जाहेरी दिइएको थियो । तोडफोड घटनाका आरोपितहरुलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेका बेला वडाध्यक्ष निरौलाले प्रहरीसमक्ष गिरफ्तारी दिएका हुन् ।

गिरफ्तारी दिएपछि बोल्दै निरौलाले आफूविरुद्ध प्रहरीमा उजुरी परेकाले नैतिकताका आधारमा आफूले गिरफ्तारी दिएको बताए । उनले पाख्रीबास नगरपालिका वडा नंम्बर ४ का वडाबासीको पक्षमा निरन्तर अडिग रहिरहने दावी पनि गरेका छन् । यसैबीच वडाध्यक्ष निरौलाको गिरफ्तारीपछि उनका समर्थकले प्रदर्शन गरेका छन् । वडाध्यक्ष निरौलाकाे रिहाई माग गर्दै प्रदर्शन गरिएको हो । उनीहरुले वडाध्यक्ष निरौलाको पक्ष र नगर प्रमुखको विपक्षमा नारावाजी गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!