संगालोखबर सम्वाददाता
पाख्रीवास नगरपालिकाले गरेको पत्रकार सम्मेलन । तस्वीर: रबिन कटेल /संगालोखबर

धनकुटा । पाख्रीवास नगरपालिकाले नगरसभामा हुलदंगा र तोडफोड गर्नेहरुलाई तत्काल कारबाही गर्न प्रशासनसँग माग गरेको छ । नगरपालिका कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर हुलदंगा र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरी तत्काल कारबाहीको दायरामा ल्याउँन र तोडफोडको क्षतिपूर्ति दिलाउँन माग गरिएको हो ।

लोकतान्त्रिक भन्ने दलहरुले नै नगर सभामा आक्रमण र तोडफोड गर्नु लोकतन्त्रमाथिको हमला र स्थानीय सरकार माथिको नाङ्गो आक्रमण भएको भन्दै नगरपालिकाले घटनाको घोर निन्दा एवं भत्सना गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख बृषबहादुर राईले आफुलाई लोकतन्त्रको मसिह ठान्ने दलहरुले नै गुण्डागर्दी शैली प्रदर्शन गरेको भन्दै आपत्ती जनाए । उनले आक्रमणमा संलग्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीलाई लक्षित गर्दै हुलदंगा र तोडफोड गर्ने कुन लोकतान्त्रिक चरित्र हो भनि प्रश्नसमेत गरे ।

Advertisement
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख राई । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

उनले लोकतन्त्र विरोधी नाङ्गो नाच प्रदर्शन गरी तोडफोडमा उत्रिएर सरकारी सम्पत्तीमा क्षति पुर्याउँनेहरुलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउँन प्रशासनसँग माग पनि गरे । ‘लोकतन्त्रको मसिह ठान्ने दलहरुले देखाएको नाङ्गो नाच प्रति हामी घोर निन्दा एवं भत्सना गछौं,’ मेयर राइले भने, ‘नगरसभामा आक्रमण गरेर सरकारी सम्पत्ती तोडफोड गर्नेहरुलाई हामीले कानूनी कारबाहीका लागि प्रकृया अघि बढाउँदैछौ । यस्ता व्यक्तिहरुलाई प्रशासनले तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउँनुपर्छ ।’

आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्न गत बिहिबार आयोजित नगरको आठौं नगरसभामा काँग्रेस लगायत दलका कार्यकर्ताले हुलदंगा र तोडफोड गरेका थिए । राजनीतिक पूर्वाग्रह राखी बजेटको सिलिङ्ग तोक्ने क्रममा विभेद गरिएको भन्दै आन्दोलित उनीहरुले नगरसभामा तोडफोड गरेका हुन् । विरोध जनाउने क्रममा एक वडासदस्यले स्थानीय युवामाथि हात उठाएकाले भीड अनियन्त्रित भएर घटना भएको उनीहरुको तर्क छ ।

तर, आरोपित वडासदस्यले भने आरोपको खण्डन गर्दै आफुले कसैमाथि हात नउठाएको दावी गरेका छन् । तोडफोडबाट नगरपालिका भवनको आधा दर्जन झ्यालका सिसा फुटेका छन् भने दर्जनौं कुर्सीमा क्षति पुगेको छ । तोडफोडबाट करिब ५ लाख भन्दा बढीको क्षति भएको नगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!