संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाको नगरसभामा हुलदंगा र तोडफोड भएको छ । बिहिबार आयोजित आठौं नगरसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी सम्बद्ध नेता कार्यकर्ताले नाराबाजी गर्दै कुर्सी र झ्यालको सिसा फुटाएका हुन् ।

Advertisement

वडागत बजेट सिलिङ्गमा विभेद गरिएको र राजनीतिक पूर्वाग्रहका आधारमा बजेट सिलिङ्ग तोकिएको भन्दै उनीहरुले नगर सभामा प्रवेश गरी हुलदंगा गरेका हुन् । पाख्रीवास नगरपालिकाको केन्द्रसमेत रहेको वडा नं. ४ मा कम बजेट तोकेर विभेद गरिएको उनीहरुको तर्क छ । नगर कार्यपालिकाको बैठकले वडा नं. १, ४ र ७ मा ३०/३० लाख, ३ र १० नं. वडामा ३५/३५ लाख र वाँकी वडामा ४०/४० लाखका दरले बजेट सिलिङ्ग तोकेको थियो । नगर सभाको सुरुवातमा वडा नं. ४ का वडाध्यक्ष सोवित निरौलाले बजेटमा विभेद गरिएको भन्दै बैठक बहिस्कार गरेर बाहिरिएका थिए । लगत्तै नगर सभाभित्र प्रवेश गरेको समूहले नाराबाजी गर्दै तोडफोड गरेको हो ।

तोडफोडबाट सभाहलको आधा दर्जन झ्यालका सिसा फुटेका छन् । दर्जनौं कुर्सी तोडफोड गरिएको छ । आन्दोलनका क्रममा वडा नं. ४ सहित कम बजेट परेका वडाबाट पनि दर्जनौं मानिस आएका थिए । सो क्रममा सयौं मानिस भेला भएर प्रदर्शन गरेका हुन् । घटनापछि नगर प्रमुख बिर्षबहादुर राईले नगर सभामा वडाध्यक्ष निरौलालाई वोल्ने समय दिने भन्दा–भन्दै बाहिर निस्किएर भिडलाई उत्तेजित गराएको आरोप लगाए । ४ नं. वडाका बहुमत वडासस्यहरुकै सहमतिका आधारमा बजेट सिलिङ्ग तोकिएको मेयर राईले तर्क गरे ।

यता, वडाध्यक्ष निरौलाले आफु एमालेबाटै बिजयी भएको वडाध्यक्ष भएपनि ओली समूहलाई समर्थन नगरेकाले ४ नं. वडालाई विभेद गरिएको बताए । पाख्रीवास स्थानीय तह निर्वाचनमा नेकपा एमालेले क्लिन स्वीप गरेको नगरपालिका हो । त्यहाँका ५२ वटै पदमा एमालेका जनप्रतिनिधि छन् । तत्कालिन नेकपा हुँदै अहिले एमालेको केन्द्रमा चलिरहेको विवादका कारण पाख्रीवास ४ का वडाध्यक्ष निरौला माधव नेपाल पक्षमा उभिएका छन् । यसैबीच हुलदुंगा सकिएपछि नगर सभामा बजेट प्रस्तुत गरिएको छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!