
धनकुटा । धनकुटाका कोरोना संक्रमित एक बृद्धको आज मृत्यु भएको छ । धनकुटा नगरपालिका–३ का ६० बर्षीय संक्रमित बृद्धको होम आइसोलेशनमा मृत्यु भएको हो । गत शुक्रबार पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी घरमै होम आइसोलेशन बसेका थिए । बिहान करिब ७ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।
मृतक बृद्धका नातीको भनाई उदृत गर्दै गुरागाईले दिएको जानकारी अनुसार रुघामर्की लागेपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्यमा अन्य समस्या नदेखिएको र हिजो साँझसम्म राम्रै अवस्थामा रहेका उनको बिहान अचानक मृत्यु भएको हो ।
यसअघि गत शनिवार पनि धनकुटा नगरपालिका–४ का ५० बर्षीय कोरोना संक्रमित बृद्धको होम आइसोलेशनमै मृत्यु भएको थियो । योसँगै धनकुटामा कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको संख्या २२ पुगेको छ । धनकुटामा स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएका १५ र जिल्ला बाहिर स्वाब संकलन गरेर परीक्षण गर्दा संक्रमण देखिएका ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।















