धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–७ स्थित राम्चे गाउँमा अहिले दुई दर्जन भन्दा बढी व्यक्ति विरामी परेका छन् । गाउँको एक घरमा केही दिन अघि लगाइएको एकाहा पुराणमा सहभागि भएका अधिकांश व्यक्ति धमाधम विरामी पर्न थालेको स्थानीयबासी बताउँछन् ।
स्थानीयका अनुसार अहिले सो गाउँका करिब ३० जना विरामी परेका छन् । अधिकांशमा ज्वरो आउँने, रुघामर्की लाग्ने, जिउ दुख्ने, बान्ता हुँने लगायत समस्या देखिएको स्थानीय कृष्णबहादुर थापाले बताए । ‘गाउँमा पुराण थियो, त्यहाँ भेला भएका अधिकांश विरामी पर्न थालेकाले पुराणबाटै कोरोना फैलियो भन्ने अनुमान गरेका छौैं ।’ थापाले संगालोखबरसँग भने, ‘अहिले घरपिच्छे बिरामी छन्, तीन जनालाई परीक्षण गराउँदा तीनै जनालाई कारोना देखियो, अरुको परीक्षण नै गराइएको छैन ।’
पुराणमा गएका तीन जनाले आफै गएर परीक्षण गराउँदा तीनै जनालाई कारोना संक्रमण पुष्टि भएको हो । वाँकी एक जनाको रिपोर्ट आउँन वाँकी छ । पुराणमा करिब ७० जना सहभागि भएका थिए । पुराणमा भेला भएका एकै घरका तीन जनासम्मलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको स्थानीय गोबिन्द सुबेदीले बताए । विरामी परेकाहरु अहिले औषधि खाएर घर–घरमै बसेका छन् । धेरै जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गाउँमा कोरोना फैलिएको आशंकामा स्थानीयबासी त्रसित बनेका छन् ।
उनीहरुले गाउँमा विरामी परेकाहरुलाई पीसीआर परीक्षण गराउँन माग गरेका छन् । सम्बन्धित निकायमा जानकारी गराउँदा पनि परीक्षणमा तत्परता नदेखाइएको उनीहरुको गुनासो छ । यता, पाख्रीवास–७ का वडाध्यक्ष फणिन्द्र तामाङले भने गाउँमा केही मानिस विरामी परेको भएपनि उनीहरु निको हुँदै गएकोले स्थिती सामान्य रहेको प्रतिक्रिया दिए ।