धनकुटा । धनकुटाका दुई वेग्ला–वेग्लै स्थानमा मंगलबार रुखले किचेर दुई जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–७ साफु र सहिदभूमि गाउँपालिका–३ छिन्ताङमा रुखले किचेर एक/एक जनाको मृत्यु भएको हो ।
दुवै ठाउँमा एकैदिन, एकै प्रकृतिका घटनामा दुई जनाले ज्यान गुमाएका छन् । रुख काट्ने क्रममा किच्दा दुबै ठाउँमा एक/एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहान करिब ९ बजे आफैले काट्दै गरेको रुख ढलेर किच्दा महालक्ष्मी–७ आन्द्रुङका ३४ बर्षीय पुर्णकुमार लुम्बाको मृत्यु भएको हो । ठेकी बनाउँनका लागि लुम्बासहित तीन जना साफुमा रुख काट्न गएका थिए । सोही क्रममा रुख ढलेर किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तैगरी, सहिदभूमि–३ छिन्ताङमा दिउँसो करिब ३ बजे रुख काटेर ढाल्नलाई तान्ने क्रममा रुख ढलेर किच्दा स्थानीय ४२ बर्षीय नारायण कुमार राईको मृत्यु भएको छ । स्थानीय बिरेन्द्र राईको जग्गामा रहेको चिलाउनेको रुख काटेर ढाल्नलाई नारायणसहित अन्य व्यक्ति तान्दै थिए । सोही क्रममा रुख लडेर किच्दा घटनास्थलमै उनको मृत्यु भएको हो ।