विराटनगर । विराटनगर–१९ स्थित घिनाघाट पुलमुनिको सिंघिया खोलामा एक महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो करिब ३ बजे विराटनगर–३ घर भएकी ४३ वर्षीया सुमित्रा खतिवडा खोलामा मृृत फेला परेकी हुन ।
खोलामा घोप्टो परेर डुबेको अवस्थामा महिलाको शव भेटिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार महिलाले डिपे्रशनको औषधी सेवन गर्दै आएकी थिइन् । महिना दिनअघि नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको जग्गा सम्बन्धी मुद्दा हारेपछि मृतक खतिवडाले डिप्रेशनको औषधी सुरु गरेको स्थानीयको भनाई छ ।
हाल मृतक महिलाको शरीरमा कुनै किसिमको निलडाम नरहेको र महिलाले डिप्रेसनको औषधि सेवन गर्दै आएकोले आत्महत्या गरेको हुनसक्ने मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले बताए । उनले पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप खुल्ने जानकारी दिए । यता, मृतक महिलाले करिब २ सय मिटर माथिबाट खोलामा हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् ।