धनकुटा । धनकुटाबाट धरानतर्फ जाँदै गरेको एम्बुलेन्समा एक क्वीन्टल गाँजा बरामद भएको छ । एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरीले चालकसहित दुई जनालाई पक्राउ गरेको छ । धरानबाट एम्बुलेन्स पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
धरान उपमहानगरपालिका–२ स्थित राजमार्गबाट सोमबार साँझ करिब ७ बजे प्रहरीले गाँजासहित को १ च ५५५९ नम्बरको हुडेप नेपाल लेखिएको मारुती एम्वुलेन्सलाई नियन्त्रणमा लिएको हो । शंका लागेर चेकजाँच गर्ने क्रममा एम्बुलेन्सको पछाडिको भागमा २५/२५ किलोको चार वटा झोलामा एक सय किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
‘धनकुटाबाट एम्बुलेन्समा गाँजा राखेर धरानतर्फ ल्याउँदै गरेको सूचना पाएका थियौं । धरानको जिरोपइन्टमा रोक्न खोज्दा नमानी एम्बुलेन्स भाग्यो । पछ्याएर रत्नरोड नजिकबाट नियन्त्रणमा लिएका हौं, ‘डिएसपी बस्नेतले संगालोखबरसँग भने, ‘धनकुटा तिरबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको आशंकामा हामीले निगरानी बढाएका छौं । सोही क्रममा ठूलो परिमाणमा गाँजा भेटिएको हो ।’
गाँजा बरामद भएपछि एम्बुलेन्स चालक धरान–१५ का ३६ बर्षीय बलबहादुर लिम्बु र एम्बुलेन्समा सवार धनकुटा सहिदभूमि गाउँपालिका–१ घर भई धरान–११ बस्दै आएका २८ बर्षीय पोशन राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार एम्बुलेन्समा विरामी थिएनन् । तर, विरामी सुत्ने ठाउँमा विरामी जस्तो अभिनय गरेर पोशन सुतेका थिए । सोही सिटको मुनी गाँजा भेटिएको हो ।
उनीहरुविरुद्ध प्रहरीले सुनसरी जिल्ला अदालतमा लागुऔषध मुद्दा दायर गरेको छ । लागुऔषध ओसारपसारका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाँजासहित नियन्त्रणमा लिइएको एम्बुलेन्स सुनसरी जिल्लाको हो । यसअघि विराटनगरको एक एम्बुलेन्सलाई गाँजा र रक्सी बोकेको अवस्थामा धनकुटाको स्कूलडाँडाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।