विराटनगर । संसद् विघटनको विरोधमा विराटनगरमा आइतवार साँझ नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । नेपाली काँग्रेस निकट तरुण बिभागले बरगाछी र नेकपा माओवादी केन्द्र निकट वाईसीएलले सिद्धार्थ चौकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।
बरगाछीमा भेला भएका काँग्रेस नेता कार्यकर्ताले संसद् विघटनको विरोधमा नारा लगाउँदै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाए । उनीहरुले ‘केपी ओली मुर्दावाद, केपी तेरो पाराले दुख पाए साराले’ लगायत नारा लगाउँदै पुत्ला जलाएका हुन् । पुत्ला दहनपछि बोल्दै काँग्रेस युवा नेता दिपक चापागाई र तरुण बिभागका संयोजक संजय मण्डलले संसद् पुर्नस्थापनाको माग गरेका छन् ।
यता, सिद्धार्थ चौकमा भेला भएका माओवादी कार्यकर्ताले पनि सरकारविरुद्ध नारा लगाउँदै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । उनीहरुले प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गरे । पुत्ला दहनपछि बोल्दै वाईसीएलका जिल्ला इन्चार्ज शेखमहम्मद आजमले संसद् पुर्नस्थापना नभएसम्म आन्दोलन जारी राखिने बताएका छन् ।
मन्त्रीपरिषद्को सिफारिसमा शुक्रबार मध्यराती राष्ट्रपति भण्डारीले संसद् विघटन गरी निर्वाचन घोषणा गरेकी हुन् । संसद् विघटनपछि देशका बिभिन्न ठाउँमा विरोध प्रदर्शन सुरु भएको छ ।
भिडियो हेर्नुहोस्…