धनकुटा । धनकुटा जिल्ला अस्पतालमा क्यान्टिन सञ्चालन गर्दै आएका सन्देश राईले निषेधाज्ञाको अवधिमा क्यान्टिन बन्द नगरी २४ सैं घण्टा सेवा दिने प्रतिवद्धता जनाएका छन् । जिल्लामा कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण होटलहरु बन्द भएको र क्यान्टिनले पनि खाना नखुवाउँदा धनकुटा अस्पतालका विरामी कुरुवा भोकभोकै भएको समाचार सोमबार संगालोखबरले प्रकाशन गरेको थियो ।
समाचार सार्वजनिक भएपछि अस्पतालको माङ्गफुङ्ग खाजा घरका सञ्चालक राईले कर्मचारी विरामी परेकाले केही दिन क्यान्टिन बन्द भएको भएपनि मंगलबारबाट २४ सैं घण्टा सेवा सूचारु गरिएको जानकारी दिएका हुन् । ‘हाम्रो स्टाफमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो । त्यसैले तीन दिन खाना खुवाउँन नसकेको होे,’ राईले भने, ‘स्टाफमा कोरोना लागेको पनि हैन रहेछ, उ पनि ठिक भईसकेकाले अहिले सेवा सूचारु छ ।’
विरामी कुरुवाले खाना खान नपाएर चाउचाउको भरमा बस्नु परेको समाचार सार्वजनिक भएपछि जिल्लाका सरोकारवाला निकायले त्यसमा चासो देखाए । उद्योग बाणिज्य संघले समस्या समाधानका लागि पहल गरेको थियो । उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राई समस्या बुझेर समाधानको पहल गर्न मंगलबार जिल्ला अस्पताल पुगेका थिए ।
उनले प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्मा लगायतसँग समस्या समाधानका लागि छलफल गरेको बताए । ‘समाचार आएपछि म अस्पताल पुगेर बुझ्दा तीन दिन क्यान्टिन बन्द भएको रहेछ । क्यान्टिनका स्टाफले पनि त्यही बताए,’ अध्यक्ष राईले भने, ‘क्यान्टिनमा समस्या आएको भए बैकल्पिक उपायका लागि आसपास क्षेत्रका होटल खोल्न सीडीओ साप र अस्पताल प्रमुखसँग पनि कुरा गरेको थिए, तर क्यान्टिन पुनः सुचारु भएकाले समस्या समाधान भएको छ ।’
यसअघि प्रकाशित समाचार…