धनकुटा । कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण होटलहरु बन्द हुँदा धनकुटा अस्पतालका विरामी कुरुवा भोकभोकै भएका छन् । होटल बन्द भएका कारण खाना खान नपाउँदा विरामी कुरुवा भोकभोकै बस्न बाध्य भएका हुन् ।
कोरोना संक्रमण नियन्त्रणका लागि प्रशासनले धनकुटा नगरक्षेत्रमा बैशाख २२ गतेदेखि ३१ गतेसम्म नौ दिन निषेधाज्ञा जारी गर्यो । तर, संक्रमण घट्नुको सट्टा उल्टै बढ्दै गएपछि बैशाख ३१ गते राती १२ बजेदेखि जेठ १५ गते राती १२ बजेसम्मका लागि जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ । बजार पसल खोल्न दिइएको छैन । दैनिक उपभोग्य बस्तुका पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म र वेलुका ४ बजेदेखि ६ बजेसम्म मात्र खोल्न दिइएको छ । अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
होटल, रेष्टरेन्ट, खाजा तथा चिया पसलहरु बन्द गराइएको छ । अस्पतालबाट घर नजिक हुँनेहरुले घरबाटै खाना ल्याएर खाने गरेका छन् । बजारमा आफन्त हुँनेहरुलाई पनि खासै गाह्रो छैन । तर, टाढाबाट उपचारका लागि धनकुटा जिल्ला अस्पताल आएकाहरुले खान नपाएर भोकभोकै बस्नुपरेको गुनासो गरेका छन् । छोरा विरामी भएर उपचारका लागि धनकुटा जिल्ला अस्पताल लिएर आएका तेह्रथुमको छथर गाउँपालिका–२ हमर्जुङका खगेन्द्र भट्टराईले होटल बन्द हुँदा दुई दिनदेखि खाना खान नपाएको गुनासो सुनाए । ‘हस्पिटल आसपासका सबै होटलहरु बन्द छन्, होटल नखुल्दा खाना खान पाइएन् ।’ संगालोखबरसँग उनले भने, ‘यहाँ भएका क्यान्टिनमा पनि खाना खुवाउँन छोडेका रहेछन्, केही उपाय नपाएपछि चाउचाउको भरमा दिन कटाउँनु परिरहेको छ ।’
खगेन्द्र जस्तै घर टाढा भएका र अस्पताल नजिक आफन्त नभएका अन्य विरामीका आफन्तको पनि पीडा उस्तै छ । हस्पिटलमा भएका क्यान्टिनले कोरोना संक्रमण र निषेधाज्ञाको कारण देखाउँदै खाना बेच्न छोडेको विरामीका आफन्तले गुनासो सुनाए । यता, अस्पतालमा भर्ना भएका विरामीलाई भने सरकारी खर्चमै अस्पतालले खानाको व्यवस्था मिलाउँने गरेको छ । जिल्ला अस्पतालमा अहिले ६ जना विरामी भर्ना छन् । दुई जना सोमबार डिस्चार्ज भएका छन् ।