- गोमा ढुंगाना/सन्तोष सुवेदी

धनकुटा । निषेधाज्ञा अवधिमा पनि कोरोना संक्रमित थपिने क्रम निकै बढेपछि धनकुटामा प्रशासनले शनिवारबाट निषेधाज्ञामा थप कडाई गरेको छ । संक्रमण रोकथामका लागि प्रशासनले आवतजावतमा कडाई गरेको हो । अब, अनावश्यक हिडडुल गर्नेलाई प्रहरीले ‘अनदस्पोट’ कारबाही गर्ने भएको छ ।

Advertisement

कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले धनकुटा नगरक्षेत्रमा बैशाख २२ गतेदेखि ३१ गतेसम्म नौ दिन निषेधाज्ञा जारी गरेको थियो । तर, संक्रमित थपिने क्रम झन–झन बढ्न थालेपछि प्रशासनले शुक्रबार पुनः निषेधाज्ञाको अवधि र क्षेत्र बढाएको छ । जेठ १५ गतेसम्मका लागि धनकुटा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । गाउँ–गाउँमा पनि संक्रमित फेला पर्न थालेपछि प्रशासनले १५ दिनका लागि जिल्लाभर नै निषेधाज्ञा लगाएको हो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ । बजार पसल खोल्न दिइएको छैन । दैनिक उपभोग्य बस्तुका पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म र वेलुका ४ बजेदेखि ६ बजेसम्म मात्र खोल्न दिइएको छ । दैनिक उपभोग्य बस्तु किन्न निस्किनेहरुलाई पनि प्रहरीले कडाई गरेको छ । अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

बैशाख २२ गतेदेखिनै निषेधाज्ञा जारी रहेको धनकुटा बजारमा शनिवारबाट भने प्रहरीले थप कडाई गरेको स्थानीयबासी बताउँछन् । अत्यावश्यक काममा निस्कनेहरुलाई पनि प्रहरीले सोधपुछ गरेर मात्रै छोड्ने गरेको छ । विहान मोटरसाइकलमा तरकारी लिन जाँदै गर्दा प्रहरीले केही समय रोकेर भोलिदेखि तरकारी किन्न पैदल जाँनु भनी चेतावनी दिएर छोडेको धनकुटा बजारका एक स्थानीयले बताए । ‘पहिले त यस्तो थिएन । आजबाट निकै टाइट गरेको छ,’ उनले भने ।

यता, मोटरसाइकलमा औषधि किन्न जादै गर्दा रोकेर प्रहरीले अनावश्यक गाली गरेको भन्दै धनकुटाका स्थानीय युवक तिम्सिनाले सामाजिक सञ्जालमै आक्रोस पोखेका छन् । यसअघि निषेधाज्ञा अवधिमा फाटफुट मानिस बाहिर निस्किदा प्रहरीले खासै कडाई नगरेको भएपनि शनिवारबाट अत्यावश्यक काममा निस्कनेहरुलाई पनि प्रहरीले सोधपुछ गरेर मात्रै छोड्न थालेपछि स्थनीयबासीले निषेधाज्ञा कडाई भएको अनुभूति गरेका हुन् । कोरोना संक्रमण दिन–प्रतिदिन बढिरहेका बेला निषेधाज्ञामा कडाई गर्नु आवश्यक भएको भन्दै धेरैले प्रशंसा गरेका छन् ।

निषेधाज्ञा पालना गराउँन प्रहरीले धनकुटा बजारमा बिहानैदेखि माइकिङ पनि गरेको थियो । निषेधाज्ञामा कडाई गरिएपछि सर्वसाधारणको चहलपहल घटेर धनकुटा बजार सुनसान बनेको छ ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई ‘अनदस्पोट’ कारबाही गरिने

निषेधाज्ञा अवधिमा पनि कोरोना संक्रमित थपिने क्रम नघटेकाले थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल बताउँछन् । ‘कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ । त्यसैले आवतजावतमा कडाई गरेका छौं,’ प्रजिअ दाहालले संगालोखबरसँग भने, ‘धनकुटा बजारमा निषेधाज्ञाको पालना सन्तोषजनक छ । हिले, सिधुवा, पाख्रीवास लगायत क्षेत्रमा निषेधाज्ञा उल्लंघन गर्नेक्रम पाइएपछि थप कडाई गरेका छौं । अब अनावश्यक हिडडुल गर्नेलाई प्रहरीले ‘अनदस्पोट’ कारबाही गर्छ ।’

केही दिन अघि पनि धनकुटा बजारमा अनावश्यक हिडडुल गरेको भन्दै पाँच जनालाई प्रहरीले पक्राउ गरी प्रशासनबाट जनही एक/एक सय जरिवाना तिराएर छोडेको थियो । तर, अब अनावश्यक हिडडुल गर्नेलाई प्रहरीले ठाउँको–ठाउँ जरिवाना तिराउँने प्रजिअ दाहालले जानकारी दिए । निषेधाज्ञा उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन अन्तर्गत एक सय जरिवाना र एक महिनासम्म कैद सजाय हुनसक्ने भएकाले सचेत भई निषेधाज्ञाको पूर्ण पालना गर्न पनि प्रजिअ दाहालले जिल्लाबासीमा आग्रह गरेका छन् ।

धनकुटामा कोरोना संक्रमण तीब्र

धनकुटामा चैत २९ गते दोस्रो चरणमा कोरोना संक्रमित फेला परेका हुन् । त्यसयता एक महिनाको अवधिमा जिल्लामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार दोस्रो चरणको संक्रमण सुरु भएयता शनिवारसम्म जिल्लामा १२९ जनामा संक्रमण पुष्टि भएको छ ।

पहिलो चरणको तुलनामा दोस्रो चरणको संक्रमणदर निकै बढी हो । यो अवधिमा कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ भने १० जना निको भएका छन् । औद्योगिक ग्रामस्थित आइशोलेशनमा ४ जना उपचाररत छन् भने वाँकी सबै होम आइसोलेशनमा छन् ।

निषेधाज्ञाले शनिवार सुनसान देखिएको धनकुटा बजार । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!