संगालोखबर सम्वाददाता

धनकुटा । कोरोना संक्रमणका कारण धनकुटाका एमाले नेता चन्द्र चोङवाङ्गको आज निधन भएको छ । कोरोना संक्रमण भई विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत ५४ बर्षीय नेता चोङवाङ्गको आज बिहान निधन भएको हो ।

Advertisement

छथर जोरपाटी गाउँपालिका–४ काजिमाने घर भएका चोङवाङ्ग एमाले धनकुटाका जिल्ला कमिटी सदस्य हुन् । उनी तत्कालिन तेलिया गाविसका पूर्वअध्यक्षसमेत हुन् । एमाले नेता चोङवाङ्ग २०४९ देखि ०५४ सालसम्म गाबिस अध्यक्ष बनेका थिए । धनकुटा जिल्ला अस्पतालको ल्यावमा पीसीआर परीक्षण गर्दा वुधवार उनमा कोरोना संक्रमण पुष्टि भएको हो । लक्षणसहितको संक्रमण देखिएका नेता चोङवाङ्गलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको थियो ।

नोबेलको कोभिड वार्डमा उपचाररत उनको आज बिहान निधन भएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनमा उच्च रक्तचापको समस्यासमेत थियो । संक्रमणपछि उनमा निमोनिया भएको थियो । संक्रमण पुष्टि भएको तीन दिनमा उनको निधन भएको हो । नेता चोङवाङ्गका तीन छोरा र दुई छोरी छन् ।

यसैबीच नेता चोङवाङ्गको निधनप्रति नेकपा एमाले धनकुटाले आज बिहान शोक वक्तव्य जारी गरेर दुःख व्यक्त गरेको छ । जिल्ला अध्यक्ष राजेन्द्र राईले शोक वक्तव्य जारी गर्दै चोङवाङ्गको निधनले पार्टीको असल, इमान्दार, कर्तव्यनिष्ट र एक जुझारु कार्यकर्ता गुमाउँनु परेको उल्लेख गरेका छन् ।

छथर जोरपाटीमा पाँच दिनको अवधिमा दुई संक्रमितको मृत्यु

छथर जोरपाटी गाउँपालिकामा कोरोना संक्रमणका कारण विगत पाँच दिनको अवधिमा दुई जनाको मृत्यु भएको छ । यसअघि गत सोमबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा छथर जोरपाटी–४ कै ७७ बर्षीया कोरोना संक्रमित बृद्धाको पनि मृत्यु भएको थियो ।

धनकुटामा दोस्रो चरणको कोरोना संक्रमण सुरु भएयता छथर जोरपाटीका २९ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भयो । संक्रमित मध्ये दुई जनाको मृत्यु हुँनुका साथै तीन जना संक्रमणमुक्त भएको छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए ।

यो पनि हेर्नुहोस्…

धनकुटामा कोरोना संक्रमण तीव्रः एकैदिन थपिए ४४ संक्रमित, ८ महिने नावालिकामा पनि संक्रमण

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!