- संगालोखबर सम्वाददाता

विराटनगर । १३ बर्षीया छोरीको पेटमा अनैतिक गर्भ रहेको थाहा पाएपछि भारतका एक व्यक्तिले गर्भवती छोरीलाई सीमावर्ती क्षेत्र विराटनगरमा अलपत्र छोडेर फरार भएका छन् । आफ्नै भाउजुको भाई (सोल्टा) सँगको अनैतिक सम्बन्धका कारण छोरी गर्भवती भएको थाहा पाएपछि उनका वावुले गर्भवती छोरीलाई विराटनगरमा ल्याएर छोडी फरार भएका हुन् ।

Advertisement

छोरीले अनैतिक गर्भ वोकेको पत्तो पाएपछि समाजका अगाडि लाज ढाक्न वावुले अलपत्र अवस्थामा छोडेर हिडेको अनुमान गरिएको छ । ती व्यक्तिले छोरीलाई सुनसरीको भन्टाबारी नाका हुँदै विराटनगर ल्याएर जिल्ला प्रशासन कार्यालय, मोरङ नजिक अलपत्र छोडी आफु भारत फर्किएको प्रहरीको अनुमान छ ।

गर्भवती ती बालिका गत माघ २९ गते राती करिब ९ बजे रोइरहेको अवस्थामा फेला परेपछि मोरङ प्रहरीले उनलाई उद्धार गरेको थियो । अहिले उनलाई विराटनगर–१२ स्थित स्वयंमसेवी संस्था एबिसी नेपालमा राखिएको छ ।

१३ बर्षीया बालिकाको पेटमा ७ महिनाको गर्भ

गत बिहीबार संरक्षण गरेर एबिसी नेपालमा ल्याइएकी बालिकालाई स्वास्थ्य परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । भिडियो एक्स–रे गर्दा उनको पेटमा २८ हप्ताको गर्भ रहेको खुलेको हो । बालिकाको बयान अनुसार उनी आफ्नै भाउजुको भाईबाट (सोल्टा) बाट गर्भवती भएकी हुन् ।

गाउँ समाजमा इज्जत जाने डरले बुवाले उनलाई नेपाल छोडेर फरार भएको हुनसक्ने संस्थाकी प्रमुख बिष्णु शर्मा बताउँछिन् । भारतको फारबिसगञ्जस्थित जागरण कल्याण भारती संस्थाको सहयोगमा एबिसीले शुक्रबारदेखि नै बालिकाका अभिभावकको खोजी थालेको थियो । मोरङ प्रहरीले पनि उनको अभिभावकको पहिचानका लागि भारतीय प्रहरीसँग सहयोग मागेको थियो । हाल भारतीय प्रहरीले बालिकाको पारिवारिक सम्पर्क पहिचान गरिसकेको छ । प्रहरीले उनका आमा र बुवाको आधार कार्डसमेत फेला पारेको बताइएको छ ।

बालिकालाई भारतकै सामाजिक संस्थामार्फत् परिवारको जिम्मा लगाउने तयारी भईरहेको मोरङका प्रहरी उपरीक्षक सन्तोष खडकाले बताए । गर्भवती ती बालिकाको स्वास्थ्य अवस्था नाजुक छ । उनको शरीरमा रगतको मात्रा पनि पर्याप्त नरहेकाले गर्भपतनसमेत गराउन सक्ने अवस्था नरहेको कोशी अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!