बेलबारी । मोरङको बेलबारी नगरपालिकामा पनि कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान सुरु भएको छ । आइतवार एक कार्यक्रमकाबीच बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्यकर्मीलाई खोप दिएर अभियान सुरु गरेका हुन् ।
अभियन सुरु भएसँगै बेलबारीका केही स्वास्थ्यकर्मीहरुलाई खोप लगाइएको छ । कोरोनाविरुद्धको अभियानमा अग्रापंतिमा खटिने स्वास्थ्यकर्मीहरुले खोप लगाएपछि महामारीको समयमा भोगेका पीडा भुलेको प्रतिक्रिया दिएका छन् ।
‘स्वास्थ्य सामाग्री अभाव थिए । तर, बिहान बेलुका नभनी हामी परिस्थितिसँग जुधेर काममा खट्यौं ।’ बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले भने–‘अहिले कोरोनाविरुद्धको खोप लगाउँदा पुरानो दुःख भुलेको अनुभूति भएको छ ।’