संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि व्यक्तिको जग्गा अधिग्रहण गर्न मालपोत कार्यालयले रोक्का प्रक्रिया सुरु गरेको छ । जग्गा आपूर्ति ऐन अन्तर्गत प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले आवश्यक पर्ने क्षेत्रफलभित्रका व्यक्तिको जग्गा यकिन गर्न मालपोत कार्यालयलाई निर्देशन गरेको हो ।

Advertisement

विमानस्थल विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्नु अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणले बाउण्ड्री ‘बेन्चमार्क’ सर्भे गरिसकेको छ । त्यसैका आधारमा त्यस क्षेत्रभित्र पर्ने व्यक्तिका सबै जग्गाको तीनपुस्ते विवरण यकिन गरेर खरिद–बिक्री रोक्नका लागि मालपोत र नापी कार्यालय विराटनगरलाई जिम्मेवारी दिइएको हो ।

साविक विमानस्थलाई विस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने यकिन गरिएको छ । विराटनगर विमानस्थलका प्रमुख उत्सवप्रसाद खरेलका अनुसार विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रारम्भिक प्रक्रिया सुरु गरिएको छ । बाउण्ड्री सर्भेभित्र परेका जग्गाको कित्ता नम्बर नापी कार्यालयले यकिन गरिसकेको छ । अब मालपोत कार्यालयले त्यो जग्गाको तीनपुस्ते विवरण तयार पार्नेछ ।

विमानस्थल विस्तारको प्रारम्भिक चरणमै नयाँ टर्मिनल भवन निर्माण गरिने भएकाले साविक विमानस्थलको पूर्व–उत्तरतर्फको जग्गा आवश्यक पर्नेछ । त्यसका लागि प्राधिकरणले चालु आर्थिक वर्षभित्रै जग्गा अधिग्रहण गर्ने योजना राखेको छ ।प्राधिकरणले १० बर्ष भित्रमा विराटनगर विमानस्थललाई २ हजार ५ सय मिटरमा विस्तार गर्ने लक्ष्य राखेको छ । जसका लागि जग्गा बाहेक १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

सन् २०२०–२०२३ सम्ममा टर्मिनल भवन र रन–वे स्ट्रिप विस्तारका लागि ४ अर्ब खर्च हुने अनुमान छ । यसैगरी २०२४–२०२६ मा एप्रोच लाइट व्यवस्थापन लगायतका लागि २ अर्बखर्च हुने अनुमान गरिएको छ । २०२७–२०३० मा ७ अर्ब बराबरको थप संरचना निर्माण गरिने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।विराटनगर विमानस्थल विस्तारका लागि २०७६ असोज १९ गते नै तीनै तहका सरकारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!