विराटनगर । प्रदेश १ को मेची–कोशी राजमार्ग अन्तर्गतको सडकखण्डमा पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको छ । चालकको लापरबाही, ओभरस्पिड, ओभरटेक र ट्राफिक नियमको अवहेलना लगायतका कारणले सडक दुर्घटना मौलाएको हो ।
जिल्ला ट्राफिक कार्यालय मोरङको तथ्याङ्क अनुसार पछिल्लो ६ महिनाको अवधिमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको सडकखण्डमा ४ सय २८ वटा सवारी दुर्घटना भएका छन् । जसमा ५१ पुरुष, १४ महिला र ३ जना बालबालिका गरि ६८ जनाले ज्यान गुमाएका छन् भने १ सय ५१ जना गम्भीर घाईते भएका छन् ।
कार्यालयको चालु आर्थिक वर्षको अर्धबार्षिक समीक्षा अनुसार सबैभन्दा बढी पौषमा १ सय ६० वटा सडक दुर्घटनाका भएका छन् । जसमा १६ पुरुष, २ महिला र ३ बालबालिका गरी २१ जनाको ज्यान गएको छ भने ५२ जना गम्भीर घाईते भएका छन् ।
कार्यालयका अनुसार दुर्घटना पर्ने सवारी साधनहरुमा मोटरसाईकलको संख्या धेरै छ । पछिल्लो ६ महिनाको अवधिमा १ सय ४७ वटा मोटरसाईकलहरु दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार चालु आ.व.मा हालसम्म ट्रक तथा ट्याङकर २९, टिपर ४, डोजर १, बस १५, माईक्रो १, जिपकार ४६, ट्रयाक्टर २६ र ४९ वटा टेम्पो दुर्घटनामा परेका हुन् ।
नेपालमा भने प्रतिबर्ष ९ हजार बढी सवारी साधन दुर्घटनामा परी प्रति दुर्घटना ४ जनाले ज्यान गुमाउने गरेका छन् । यो आँकडा पनि दिनप्रति दिन बढ्ने क्रममा रहेको १ नंम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।