- संगालोखबर सम्वाददाता

विराटनगर । रासायनिक मल तथा किटनाशनक औषधीको अत्याधिक प्रयोगले प्रदेश १ को खेतीयोग्य जमिनमा पछिल्लो समय कार्बनको मात्रा घट्दै गएको छ । अर्गानिक उत्पादन प्रणालीको अभावमा कार्बनको मात्रा घट्दै जाँदा माटोमा अम्लको मात्रा भने बढ्न थालेको छ । यसले उत्पादनमा पनि नकारात्मक असर पुर्याइरहेको माटो विज्ञहरुले बताएका छन् ।

Advertisement

प्राङ्गारिक मलको अभावमा प्रदेश १ को ८० प्रतिशत खेतीयोग्य भूमि अम्लिय भएको छ । अम्लियपन बढ्दा माटोबाट बालीलाई चाहिने आवश्यक खाद्यतत्वको आपूर्ति हुन सकेको छैन । जसकारण फलफुल, तरकारी र अन्नबालीको उत्पादन पनि निरन्तर घ्टन थालेको छ । माटोमा भएको अम्लियपनले माटोको उर्वराशक्तिमा नकारात्मक असर पुर्याउँदा किसानका लागि यो टाउको दुखाईको बिषयसमेत बनेको छ । कार्बनको स्रोत रहेको प्राङ्गगारिक मलको ठाउँमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लियपन बढ्दै गएको माटो तथा मल परीक्षण प्रयोगशाला प्रदेश १ का माटोविज्ञ दिगम्बर यादवले बताए ।

माटोमा हाईड्रोजन आयनको मात्रा घनात्मक हुँदा अम्लियपन बढ्ने र ऋणात्मक हुँदा क्षारियपन बढ्ने गर्दछ । माटोमा पि.एचको मात्रालाई सन्तुलन अर्थात ७ मा राख्न रासायनिक मलको प्रयोग घटाउनुपर्ने कृषिविज्ञहरुले बताएका छन् । यसबाहेक माटोको अम्लियपन न्यूनीकरण गर्न कृषि चुनको प्रयोग गर्नुपर्ने माटोविज्ञ यादवको सुझाव छ ।

बिरुवालाई हुर्कन तथा बढ्न नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम म्याग्नेसियम, सल्फर, नाइट्रोजन र सुक्ष्मतत्वका रुपमा रहेका फलाम, ताँबा, वोरोन, म्याङगानिज, मोलिब्डेनम क्लोरिन लगायतका खाद्यतत्वहरु चाहिन्छ । ती खाद्यतत्वहरुको आपूर्ति गर्न माटोमा प्राङ्गारिक पदार्थ हुन आवश्यक हुन्छ । तर माटोमा प्राङ्गगारिक पदार्थको अभावमा बालीनाली मासिने र उत्पादन नहुने लगायतका समस्या देखा पर्दै गईरहेका छन् ।

यसबाहेक ढुसी, फङ्गज तथा विभिन्न ब्याक्टेरियाहरु यही अम्लियपनको अवस्थामै बाँच्ने भएकाले यसले बालीनालीका साथै मानव स्वास्थ्यमा पनि गम्भीर असर पुर्याइएको छ । यसको समुचित समाधान र माटोको उर्वराशक्ति बढाई बालीनालीको उचित संरक्षणका लागि जैविक पद्धति अबलम्बन गर्नुपर्ने बाली संरक्षण प्रयोगशाला प्रदेश १ का प्रमुख मुकेश कुमार यादवको भनाई छ ।

प्रदेश १ मा कूल क्षेत्रफलको ३१.९१ प्रतिशत अर्थात ८ लाख २६ हजार ६ सय ४६ हेक्टर जमिन खेतीयोग्य छ । जसमध्ये हिमाली भेगमा १ लाख ४ हजार ५ सय ५, पहाडमा ४ लाख २४ हजार ७ सय १३ र तराईमा २ लाख ९७ हजार हेक्टर जमिनमा खेती हुन्छ । तर पछिल्लो समय बढ्दो जनसङ्ख्याका कारण खाद्यान्नको माग पूरा गर्न सघन बाली प्रणाली अपनाउँदा माटोको उर्वराशक्ति घट्दै गएको छ ।

प्राचीनकाल देखि नै प्राङ्गारिक मललाई खासै महत्व नदिईएका कारणले पनि हाल माटोमा अम्लियपनको समस्या आईपरेको कृषि विज्ञहरुले बताउँछन् । मलमा भएका खाद्यतत्वको संरक्षण, सदुपयोगको ज्ञान र सीप अभावका कारण नेपालले एकातिर बर्षेनि करोडौँ मूल्य बराबरको नाइट्रोजन मल गुमाइरहेको छ भने अर्काेतिर विदेशबाट नेपालले अर्बौ रुपैयाँ बराबरको रासायानिक मल खरिद गरिरहेको उनीहरुको बिश्लेषण छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!