धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले गाउँ–गाउँमा शिविर सञ्चालन गरेर अपाङ्गता भएका ७० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । पुस २४ गतेदेखि माघ ३ गतेसम्म नगरका ९ वटै वडामा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।
महालक्ष्मी नगरपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको त्रिपक्षिय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरुलाई परिचयपत्र वितरण गरिएको हो । महालक्ष्मी–३ डाँडागाउँबाट सुरु भएको शिविर महालक्ष्मी–१ पारिखाप्राङमा पुगेर सम्पन्न भएको थियो ।
शिविरमा फिजिसियन, अडियोलोजिष्ट, नेत्र विशेषज्ञ र फिजियोथरापिष्टले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरेका थिए । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरी उनीहरुको अवस्था मुल्यांकन गरेर अपाङ्गता परिचयपत्र वितरण गरिएको अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रमका फोकल पर्सन गीतादेवि लुईँटेलले बताइन् । उनका अनुसार अव महालक्ष्मी नगरपालिकामा अपाङ्गता परिचयपत्र पाउँनेको संख्या ५ सय पुगेको छ ।
परिचयपत्र वितरण कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपालले अपाङ्गता भएकाहरुलाई उनीहरुको क्षमता अनुसारको सिप सिकाएर आत्मानिर्भर बनाइने बताए । उनले अपाङ्गता भएकाहरुलाई उपचारमा आर्थिक सहयोग गर्ने, आवश्यकता अनुसार घर–घरमै पुगेर उपचार सेवा उपलब्ध गराउँने र ह्विल चियर, बैशाखी, चस्मा श्रवणयन्त्र लगायत सामाग्री उपलब्ध गराइने बताए ।
कार्यक्रममा नगरका उपप्रमुख एवं अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम व्यवस्थापन समिति संयोजक मञ्जु अधिकारीले कुनैपनि व्यक्ति जन्मदै अपाङ्ग भएर जन्मनु नपरोस भनेर नवविवाहित दम्पतीदेखि नै अपाङ्गता रोकथामका लागि कार्यक्रम सञ्चालन गरिएको र अपाङ्गता भइसकेका व्यक्तिहरुलाई समाजमा पुनस्थापना गर्न यो शिविर पहिलो खड्किलो भएको बताइन् ।