काठमाडौं । कोरोनाको महामारीका कारण ९ महिनायता बन्द रहेका विद्यालयहरुमा अब पठनपाठन सुचारु हुँने भएको छ । कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको आइतवारको बैठकले विद्यालय लगायत यसअघि बन्द गरिएका सबै क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यो निर्णयसँगै विद्यालयसहित जिमखाना र सिनेमा हल पनि खुल्ने भएका छन् । बन्द रहेका अन्य क्षेत्र पनि खुल्नेछन् । तर, कोरोनाको दोस्रो लहरको जोखिम देखिएमा जिल्ला तहबाटै बन्द गर्ने निर्णय पनि भएको छ ।
कोरोना रोकथामका लागि २०७६ चैत ११ गतेबाट लकडाउन घोषणा गरिएको थियो । लामो समयको लकडाउनपछि कोरोनाको जोखिम मुल्यांकन गर्दै आवश्यकता अनुसार अन्य क्षेत्र खुल्ला गरिएको भएपनि शिक्षण संस्था र मनोरञ्जनका क्षेत्र खोल्न सरकारले अनुमति दिएको थिएन ।
यो निर्णयसँगै अब सबै क्षेत्र खुल्ला हुँने भएका हुन् । सीसीएमसीको निर्णयलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि यो निर्णय कार्यन्वयन हुँनेछ ।