संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ सरकारले ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम शुरु गरेको छ । गत आर्थिक बर्षदेखि शुरु भएको कार्यक्रम चालु आर्थिक बर्षसम्म आईपुग्दा ६९ वटा स्थानीय तहमा पुयाइएको हो ।

Advertisement

चालु आर्थिक बर्षमा ३१ वटा स्थानीय तहमा कार्यक्रम शुरु गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमका लागि आइतवारदेखि विराटनगरमा तालिम पनि शुरु गरिएकोे छ । ४५ दिने तालिमको सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन् । तालिम उद्घाटन गर्दै मन्त्री कार्कीले अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम प्रदेश सरकारले निरन्तर रुपमा सञ्चालन गर्ने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाले अपाङ्गता न्यूनीकरणका लागि करुणा फाउण्डेसनसँगको सहकार्यमा काम गरिरहेको जानकारी दिए । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको मेरुदण्ड सहकर्ताहरु नै भएको उल्लेख गरे ।

प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेसनवीचको सहकार्यमा तीन बर्षे कार्यक्रम शुरु गरिएको हो । मोरङ, सुनसरी, धनकुटा र पाँचथरका २७ स्थानीय तहबाट गत बर्ष कार्यक्रम शुरु गरिएको थियो । चालु आर्थिक बर्षमा मोरङ, सुनसरी, संखुवासभा र भोजपुरका थप ३१ स्थानीय तहमा कार्यक्रम शुरु गरिएको करुणा फाण्डेसनका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले बताए । उनका अनुसार इलामका १० र सुनसरीको बराहक्षेत्रमा यसअघिदेखि नै कार्यक्रम सञ्चालनमा छ ।

करुणा फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा ३ बर्ष कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारसँग सम्झौता भएको करुणा फाउण्डेसनका सहनिर्देशक योगेन्द्र गिरीले बताए । अपाङ्गता न्यूनीकरणको काम निरन्तर सञ्चालन गर्नुपर्ने भएकाले ३ बर्षपछि प्रदेश र स्थानीय सरकारले कार्यक्रम अघि बढाउने गिरीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!