इटहरी । धनकुटाको हिलेस्थित नेपाली सेनाको २ नं.बाहिनीमा कार्यरत मेजर हवल्दार पर्शुराम भट्टराईको संकास्पद मृत्युमा छानविन नभएको विरोधमा आफन्तले बिहिबार इटहरीस्थित सेनाको पूर्वी पृतना मुख्यालय अगाडि प्रदर्शन गरेका छन् । घटना भएको सात महिना वितिसक्दासमेत न्याय नपाएको भन्दै परिवार तथा आफन्तले विरोध प्रदर्शन गरेका हुन् ।
हात–हातमा प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले नेपाली सेनाविरुद्ध नारावाजी गर्दै न्याय मागेका छन् । भट्टराईको मृत्यु हैन, कुटपिट गरी हत्या गरिएको आफन्तको दावी छ । घटनाको छानविन गरेर दोषीलाई कारवाही गर्नुको सट्टा सेना र प्रहरी मिलेर दवाउँन खोजेको गुनासो गर्दै आएका उनीहरुले पृतना अगाडि प्रदर्शन गर्दै सेनाविरुद्ध नै नारावाजी गरेका हुन् । पतिको मृत्युका कारण विछिप्त रहेकी कमलाले पृतना अगाडि सडकमै सुतेर न्याय माग्दै विरोध जनाइन् । कमला सडकमा सुतेपछि केही समय यातायात आवतजावतसमेत प्रभावित भएको थियो । न्याय माग्न पुगेकी उनी सोही क्रममा बेहोस पनि भएपछि उनका आफन्त थप आक्रोशित भएर सेनाविरुद्ध चर्को नारावाजीमा उत्रिएका थिए ।
गत जेठ ५ गते अचेत भईं लडेको अवस्थामा फेला परेको भन्दै हिलेस्थित सेनाको २ नं.बाहिनीबाट ३८ वर्षीय भट्टराईलाई उपचारका लागि बिराटनगरस्थित बिराट मेडिकल कलेज पुर्याईएको थियो । उपचारका क्रममा जेठ १२ गते उनको मृत्यु भयो । भट्टराईको शरिरका बिभिन्न भागमा चोटपटक लागेको भेटिएकाले घटना शंकास्पद रहेको भन्दै परिवारका सदस्यले छानविनका लागि सोही बेला प्रहरीमा उजुरी दिएका थिए । तर, छानविन नभएको पीडित परिवारको गुनासो छ ।
मृतककी श्रीमतीले एक महिना अघि पनि तत्कालिन बाहिनीपतिसहित १४ जनाको नाममा जिल्ला प्रहरी कार्यालय धनकुटामा किटानी जाहेरी दिएकी छन् । तरपनि, घटनाको छानविनमा सेना र प्रहरीले चासो नदेखाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । न्याय नपाउँन्जेल आन्दोलन जारी राख्ने पीडित परिवारको भनाई छ ।