संगालोखबर सम्वाददाता

ताप्लेजुङ । पाँच दिन अघिदेखि जंगलमा लागेको आगोका कारण ताप्लेजुङको प्रशिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा जोखिम भएपछि आगो नियन्त्रण गर्न हेलिकप्टरवाट पानी खन्याइएको छ । फुङलिङ नगरपालिका–११ स्थित पाथीभरा सिम्बु सामुदायिक बनमा लागेको आगो बढ्दै गएर मन्दिर क्षेत्रमा पुगेपछि सोमवार हेलिकप्टर प्रयोग गरेर आगो निभाई मन्दिरलाई जोगाइएको हो ।

Advertisement

मन्दिर क्षेत्रको आगो निभाइएपनि जंगलका अन्य क्षेत्रमा भने आगलागी नियन्त्रण हुँन सकेको छैन । स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिन नसकेर मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाएर आगो निभाइएको हो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको हो । विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै पाँचपटक आगलागी क्षेत्रमा पानी खन्याएपछि आगो नियन्त्रण भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भइसकेको छ । जंगलमा अझै आगो नियन्त्रण हुँन नसकेकाले सिरिजङ्घा गाउँपालिकाको सिकैचास्थित ढाँडे, हर्कटे क्षेत्रका दर्जनौ गोठहरु पनि जोखिममा छन् । फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत आगोले जल्दा सो स्थानमा खानेपानीको समस्या भएको छ । आगलागी कसरी सुरु भयो भन्ने कारण खुल्न सकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!