विराटनगर । प्रदेश १ मा सोमबार ६० जना कोरोना संक्रमित थपिएका छन् । ७ सय १ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा २८, झापामा १७, सुनसरीमा ११, संखुवासभामा ३ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २०, बेलबारी र सुन्दरहरैचामा २–२, कानेपोखरी, रंगेली, धनपालथान र ग्रामथानमा १–१ जना संक्रमित भेटिएका छन् । झापाको अर्जुनधारामा ४, दमक, विर्तामोड र कनकाईमा ३–३, भद्रपुरमा २, गौरादह र बुद्धशान्तिमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
सुनसरीको धरानमा ६, इटहरी र बर्जुमा २–२, भोक्राहानरसिंहमा १, संखुवासभाको खाँदबारीमा ३ र उदयपुरको त्रियुगामा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ९९ पुगेको छ । जसमध्ये २७ हजार ६ सय १७ जना डिस्चार्ज भएका छन् ।
यसैवीच, पछिल्लो २४ घण्टामा प्रदेश १ मा २६१ जना कोरोना संक्रमित निको भएका छन् । होमआईसोलेसनबाट २४८ जना कोरोनामुक्त भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् ।