धनकुटा । धनकुटा नगरपालिका–९ रुद्रवारीमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका ६३ बर्षीय देवीबहादुर थापाको दुर्घटना भएको २० दिनपछि मृत्यु भएको हो ।
गत मंसिर २१ गते डाँडागाउँबाट बिराटचौक जाँदै गर्दा थापा सवार को ३० प २११९ नम्बरको मोटरसाइकल र वीपरित दिसावाट आइरहेको को १३ प ३७२४ नम्बरको मोटरसाइकल रुद्रवारीमा ठक्कर खाएका थिए । छोराले चलाएको मोटरसाइकलको पछाडी सवार थापासहित अर्को मोटरसाइकलमा सवार तेह्रथुमको लालिगुँरास नगरपालिका–३ का २७ बर्षीय सुकबहादुर लिम्बू पनि घाइते भएका थिए ।
जिल्ला अस्पताल धनकुटामा उपचार हुँन नसकेपछि थापालाई थप उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमा केही दिनको उपचारपछि डाक्टरको सल्लाह अनुसार विराटचौकस्थित छोराको घरमा लगेर राखिएका थापाको शनिवार बिहान मृत्यु भएको भतिज लेखत खड्काले जानकारी दिए । ‘बाहिर देखिने गरी सामान्य चोट मात्र थियो ।’ संगालोखबरसँग उनले भने–‘वाईक ठोक्किएर लड्दा टाउकोमा रगत जमेको रहेछ । सुधार होला भनेर घरमा लगेर राखेको थियो, घटना भएको यत्रो दिनपछि एक्कासी मृत्यु भयो ।’
मृतकको शवलाई कोशी अस्पतालमा लगेर पोष्टमार्टम गरिएको छ । यता, सोही दुर्घटनामा घाइते भएका लिम्वू भने निको भईसकेका छन् । दुर्घटनामा परेका दुवै मोटरसाईकल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।