धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–५ स्थित बज्रमाईका क्यान्सरपीडित जुद्धबहादुर खड्काको उपचारका लागि कतारमा रहेका नेपालीहरुले ४० हजार आर्थिक सहयोग गरेका छन् । बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका धनकुटेलीहरुले आर्थिक सहयोग संकलन गरी क्यान्सरपीडित खड्काको उपचारमा सहयोग गरेका हुन् ।
कतारमा रहेका फणिन्द्र बस्नेत, किशोर बस्नेत, डालेश्वर ढुंगाना लगायतले त्यहाँ रहेका नेपालीहरुबाट सहयोग संकलन गरेर पठाएका हुन् । उनीहरुका आफन्त भूमिकला बस्नेत, कुलबहादुर बस्नेत, डोलकुमारी ढुंगाना, गजेन्द्र बस्नेत लगायतले घरमै पुगेर बिरामी खड्कालाई रकम हस्तान्तरण गरेको स्थानीय किशोर ढुंगानाले जानकारी दिए ।
खड्कालाई पाँच बर्ष अघिदेखि पिसाव नलीको क्यान्सर भएको हो । भरतपुर क्यान्सर अस्पतालमा अप्रेशन गरेका उनी अहिले घरमै बस्दै आएका छन् । समस्या बढ्दै गएपछि अन्य अस्पतालमा लगेर पनि औषधि उपचार गरिरहेको उनका छोरा बिष्णुले जानकारी दिए ।